कथा : निस्पृहता

~लाल श्रेष्ठ~ Lal Shrestha

‘‘दिदी, बाहुला माथि सार्नोस् त।’’

चट्ट सिँगारिएकी दिदीले मेरो आदेशको पालना गरी।

‘‘इन्जेक्सनले दुख्यो?’’ मैले सोधे।

‘‘अहँ, दुखेन’’ एउटा सहज उत्तर।

कुरा गर्न मन लागेर ५५ वर्षकी मैयाँ दिदीभित्र म प्रश्नहरूको बाटो हुँदै पस्दै गएँ। ‘‘तपाईको ठेगाना नाम्सा गाउँ वार्ड नं. ४ लेखिएको रहेछ। यहाँ त म पहिला एक पटक गा’थे। मान्छे देखेर भाग्ने मान्छेहरू थिएँ त्यहाँ त्यतिबेला। बस्ती पनि ज्यादै पातलो थियो। तपाइँले झैं बोल्ने र लगाउने मान्छे कल्पना पनि गर्न सकिन्न त्यहाँ त्यसबेला।’’

‘‘हो भाइ, म त्यहीँ जन्मे, घाँस-दाउरा र गोठाला गरी १३ की भएँ’’ दिदीले आफ्नो कहानी भन्न शुरू गरिन। ‘‘नाम्सामा बेला-बेलामा तरकारी लिन ठेकेदारहरू आउँथे। ठेकेदारको काम गर्ने तराईको एउटा मान्छेले मसँग विहे गर्छु भन्यो बाउसँग रक्सी खाँदै। रक्सीको सुरमा बाउले स्वीकृती पनि दिए। उस्ले मलाई कहिल्यै नदेखेको ठाउँ तराईमा लग्यो। म २३ बर्षकी हुँदासम्म ऊसँग बसेँ। खुब काम गर्नु पर्थ्यो। भाषा, लुगा र परम्परा केही पनि जान्दिन थेँ। मलाई धेरै नै पिट्थे र लदाउँथे, तैपनि मैले मुख फर्काइन । मबाट कुनै बच्चा भएन। यसमा पनि मेरो कुनै गुनासो रहेन ।

मेरो लोग्ने कहाँ उसैको एउटा साथी आइरहन्थ्यो। उनीहरू राती अबेरसम्म रक्सी खान्थे, मलाई पनि दिन्थे र म पनि खाइदिन्थेँ। त्यसपछि दुबैले मलाई पालैपालो भोग्थ्यो। मेरो लोग्नेले मलाई बंश दिन नसकेकी आइमाइ भनेर एकदिन २५ हजारमा उसैको साथीलाई बेचिदिए। दोश्रो लोग्नेले मलाई ३ वर्षसम्म बम्बैमा कोठामा लगेर राख्यो। अनि पछि तँ थोत्री भइस भन्दै कोठीमा लगेर बेची दियो। उस्ले बेच्दा म त्यतिखेर २६ वर्षकी थिएँ। म रोइन, कराइन र जे छ सबै स्वाभाविक मानेर चलेँ। २८ वर्ष कोठीमा बसेँ। ५४ की भएँ। रगत जाँच्दा एचआइभी भन्ने रोग लाग्यो भन्यो। नेपालमा उपचार छ भनेर यता पठाइदिए। गाउँमा गएँ। पहिलेको भन्दा गाउँमा मान्छेहरू बढेका रहेछन्। बाउ मरिसकेकोले सबै कुरा लथालिङ्ग थिए। पहिला त मलाई कसैले पनि चिनेनन् । पछि स्याङ्तान बुढाको छोरी भनेपछि सबैले चिने। त्यही बाउको ऐलानी जग्गा स्याहारेर बस्दैछु। यहाँ उपचार गर्दैछु।’’ यत्तिक्कैमा क्लिनिकमा एउटा अर्को रोगी आइपुग्यो। म उस्लाई सेवा दिन उठेँ। मैया दिदी पनि उठ्नु भो।

दिदीको कुरा सुनेपछि म गंभीर भएँ। सपाट अनुहार र शून्य भावको यौटा जिन्दगी। यस्तो पनि जिन्दगी? मान्छे यत्तिको निस्पृह हुन सक्छ? प्रश्नको ज्वारभाटा मनभरि छाड्दै मैया दिदी परको कुइनेटोबाट अलप भइन।

(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क ३, मार्च २०१०)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.