~आचार्य प्रभा~
चन्द्रमाको
आभासँग कल्पनाको
चुम्बन साट्दै
तिर्खालु ती अधरहरु
तृप्त बन्छन्
र टोल्हाउँछन्
आफैभित्र
मदमस्त भएर।
उज्यालो नभमा
आशाका शब्दहरु छर्दै
एकान्तमा भावनाका
उत्ताउला चाहनाहरु
स्खलन गर्छन्
ती तन्देरी बैंशहरु।
सम्झनाको सिरानीमा
यौवनका मादहरु बिसाएर
आनन्दानुभूतिका धुसा
ओढ्छन् ती जवानी
तनहरु।
शायद!
यथार्थका पलहरुको प्रतिक्षा
असह्य भएर होला
कल्पनामै स्खलित हुन्छन्
भावनाका जोशिला
पसिनाहरु ।
हो,यस्तै यस्तै
सप्तरङ्गी सपना बुन्दै
हरक्षण ब्यतित गर्छन्
अदृश्य चाहनाका भोकहरु,
अनि… …,
थन्क्याएर आफ्ना कुण्ठाहरु
कल्पनाको पालिमुनी
मरुभूमिको काकाकुल झैं
यौवनका अतृप्त चाहनाहरुलाई
उही मुस्कानले उदीप्त बनेकी
चन्द्रमालाई जिस्क्याउँछन्
तरुण मनहरु
मध्यरातमा
र……,
स्वर्णिम कल्पनामै निदाउँछन्
आशातीत ती बैँशालुका
नयनहरु ………../