~अमर गिरी ~
एक लय छ नदीहरूसँग
वृक्षहरूसँग एक लय छ
हावालाई अँगालो हालेर
शारदीय घाममा
नाचिरहेका धानका बाला
प्रचण्ड घामले
बनाएका घाउहरूलाई सुमसुम्याउँदै
फक्रिरहेका गुलाफ
पुसको चिसोमा
खोरिया खनिरहेका किसान
र उनीहरूको निधारबाट
बेगले धर्तीको स्पर्शका निम्ति
खसिरहेको पसिना
एक लय छ त्यहाँ पनि ।
एक लय छ ब्रह्माण्डसँग
पृथ्वीसँग पनि एक लय छ
एक लय छ सूर्यसँग
चन्द्रमासँग एक लय छ
कुनै स्त्रीको निधारमा
चम्किरहेको टिकुली झैं लाग्ने
ताराहरूसँग एक लय छ
जब बाँसुरी अद्वितीय लयमा बज्छ
जब हार्माेनियमको स्वर
लहरिन्छ लयमा
बज्न सरु गर्छ हृदय
र अपूर्व आनन्दको अनुभव हुन्छ
जब असाधारण लयमा
प्रस्तुत हुन्छन् नृत्यांगना
र उनीहरूको नृत्यबाट
निः सृत हुन्छ
एक अनुपम सुगन्ध
त्यस सुगन्धसँगै
आफैं नाचिरहे झैं लाग्छ
जब एउटा विलक्षण गीत
गाइन्छ अद्भुत लयमा
आफैं गीत बनिरहेझैं लाग्छ ।
हामीसँग भएको हृदयको
एक लय छ
एक लय छ हाम्रो मस्तिष्कको
एक लय छ हाम्रो गतिको
हाम्रो आँसु-हाँसो
सुख -दुःख
सबैसँग छ एक लय
यी सबैको योगबाट
जन्मन्छ जीवनमा एक अनुपम लय
र त्यो सितारझैं बज्न सुरु गर्छ ।
लय समाजसँग पनि हुन्छ
देशसँग पनि
लय सभ्यतासँग हुन्छ
संस्कृतिसँग पनि
जब लय भंग हुन्छ
मृत्यु नजिकै बसेर
जिस्कन सुरु गर्छ ।
ओ समय !
लयको कुरा गर्ने म भने
जीवित छु यतिबेला
लय भंग भएको भूगोलमा ।
आइतवार, असोज १६, २०७३
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)