कविता : प्रिय कलाकार

~केशव शिलवाल~keshab-silwal

कलाकार साथी !
मेरो पनि एउटा चित्र बनाऊ
भोकले दोब्रिएको मेरो पेट
कस्तो देखिन्छ ?
मूर्त छ या अमूर्त ?
तेलचित्र
बनाउँछौ या रेखाचित्र ?
तिम्रो चित्रमा
उज्यालोको परिभाषा के
हो ?
देशको भविष्यमा
तिमी कस्तो रङ मिसाउँछौ ?
कलाकार साथी !
कुची र सङ्गिनमा
कति फरक छ ?
हाँसो बिर्सिएको मेरो अनुहार
चित्र बनाउन योग्य छ
कि छैन ?
भत्कन तयार मेरो घर
त्यसमा काल कुरेर बसेकी
मेरी बूढी आमा
मुखको ¥यालमा
अड्किएका झिङ्गाहरू
बोकेका मेरा छोराछोरी
आफू खिइँदै गएपनि
एक मुठ्ठी खुशी बाँड्न घरमा
रातदिन तल्लीन
मेरी जीवनसङ्गिनी

उज्यालोको खोजीमा
भड्किएको म
कहाँ प्रदर्शनी हुन्छ
यो चित्र ?
पेरिस, लन्डन, रोम
वा वाशिङ्टनमा
कति मूल्य तोकिन्छ
यो चित्रको ?

तिम्रो चित्रमा सजिनको लागि
कतिवर्ष हामीले
यसरी नै बस्नुपर्छ ?
कलाकार साथी !
मेरा पनि एउटा चित्र बनाऊ।

(स्रोत : कवि केशव सिलवालको कृति “धारिला मानिसहरू” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.