~अनन्त निरौला~
तिमीले निष्फिक्री आऊँदा हुन्छ
मैले हारेर पनि जित्न जानेको छु
स्वागत छ तिम्रो निर्दयी बेगलाई,
म त पैले देखि नै यी लामा हरिया घाँसहरु जस्तो
झुकेर लमतन्न परि दि सकेको छु तिम्रो सामु।
स्वागत छ तिम्रो कर्कश प्रबाहलाई,
म त पैले देखि नै यी बग्दै गरेका मुढाहरु जस्तो
अप्रतिकार आफुलाई बगाई दि सकेको छु तिम्रो भेलमा।
स्वागत छ तिम्रो अविवेकी शक्तिलाई,
म त पैले दिखि नै कम्मरको गाग्रोबाट छछल्केर
भूँईमा झरेको पानी जस्तो छताछुल्ल
अस्तित्व बिहिन भै दि सकेको छु तिम्रो सामु।
मैले हारेर पनि जित्न जानेको छु
सुन ए!
मलाई मारेर युद्ध जित्न चाहनेहरु
म त पैले देखि नै मरि दि सकेको छु।
मलाई उछिनेर अघि बढ्न खोज्ने हरु
म त पैले देखि नै पराजित भै दि सकेको छु।
बस्तिबाट मलाई पर हुत्याउन खोज्ने हरु
म त पैले देखि नै गाउँबाट बाहिरी दि सकेको छु।
मैले हारेर पनि जित्न जानेको छु
मैले हारेर पनि जित्न जानेको छु।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )