~डा. आनन्द जोशी~
हुन त यसपटक पनि
हरियो जीवनका लागि निकै इच्छाहरु
जोगाएर
वसन्त हेर्न आएको छ हामीकहाँ
तर, खेतको माटो अझै बेहोस छ ।
पानी नपाएर
खेतका माटो अझ चिराचिरा परेका छन ।
त्यसैले,
रोपाईंका लागि आएका किसान
खेतमा वालुवा भरिएको देख्दा
झर्किएर फर्के झैं
वसन्त फर्क्यो यसपाली पनि यहाँबाट
हो, बसन्त एकपटक फेरि फर्केर गयो
हामीलाई, हाम्रो असमर्थतालाई गिज्याउँदै !
— — —
कविको “विस्थापित म : म होइन” कविता सङ्ग्रहबाट ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )