~अनिल नेम्बाङ~
बेलाबेला दोधारमा पर्छु
फूल माग्दा सोल्टिनीले म दोधारमा परेथेँ-
फूलको थुँगा या फूलको बिरुवा?
दोधारमै बिरुवा दिएथेँ
मानिलिएँ, बिरुवा-
नयाँ हो
सुरुवात हो
जीवन हो
विनिर्माण हो+
टपक्क टिपेको फूलको थुँगामा
सुन्दरता र अर्थ त देखेँ
सँगसँगै निकट अन्त्य पनि
परम्परागत चमेलीको थुँगा दिएर
मारिन मायालू सम्बोधनलाई
थुँगा त भगवानको ठुटाको लागि पो त।
बेलाबेला दोधारमा पर्छु
सानोमा गुरुबाले लक्ष सोध्नुभा’थ्यो-डाक्टर या इन्जिनियर?
परम्परागत उत्तर दिएथेँ- डाक्टर
तर
मलाई बाँस बन्ने मन थियो
कवाडि कागज बन्ने मन थियो
कवाडि बोतल बन्ने मन थियो
थुक्क, मान्छे बनेछु!
अनि त बिकार मात्र छचल्किन्छ
मिठो धुन निकाल्ने बाँसुरी बन्ने थिएँ-बाँस बनेको भए
ताल परे इतिहास बन्ने थिएँ-कवाडि कागज बनेको भए
विष अटाउने सिसी त पक्कै बन्ने थिएँ-कवाडि बोतल बनेको भए।
डाक्टर र इन्जिनियर त मान्छे पो बन्छन।
बेलाबेला दोधारमा पर्छु
फेरी फूल मागे’थिन सोल्टिनीले फुङ्सिङ मेलामा
म दोधारमा परेथें-फुङ दिने या फूल दिने?
मैले धेरै परको फ्लावर दिएथें
फुङ र फूल भन्दा सुन्दर विल्कुल थिएन फ्लावर
मानिलिएं, फ्लावर-
व्यापकता हो
ग्लोबल हो
नयाँ उचाई हो
फैलावट हो
यो भुगोल भन्दा परको भुगोल हो
ढिक्का भुगोल पनि हुन सक्छ
सुन्दरता त सापेक्षित छ।
प्राय दोधारमा पर्छु
हिजो आज पनि एउटा जुरेली झ्यालको सिसामा ठोक्किई बस्छ
झ्यालको पर्दामा पोतिएको लोभ लाग्दो मखमलि फूलले गर्दा
दोधारमा पर्छु- झ्याल खोलिदिउँ या पर्दा हटाइदिउँ?
दोधारैमा झ्यालको पर्दा हटाइदिन्छु
मानिलिन्छु-
पर्दाको फूल एउटा भ्रम हो।
जुरेलीले टेकेको मकैको ढोड एउटा सत्यता हो।
बेलाबेला दोधारमा पर्छु
तर विश्वस्त भएर नयाँ धार कल्पिन्छु।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)