~बिस्नु प्रवा सापकोटा~
हजुरबाले
गुराँस जस्तो रक्तिम जवानी
राणाका महलहरुको गाह्रो चिन्दै बिताए ।
ओइलिए पछी बैस
कसैले सपना देखाइदियो
अब राज्यमा तिमी जस्ता जनताले
शासन गर्नु पर्छ ।
जाडोले कठाङ्रिएको बिरुवालाई
घामको न्यानो किरणले
स्पर्स गरे झैं
हजुरबाले
आफु पनि शासक हुने सपनाको
न्यानो खस्टो ओढेर
अभावको जाडोमा
आफ्नै बिस्टहरुको
बिरोधमा कपालमाथि
हिउ खसाले
लडाईं जितेपछी
मात्र
बिष्ट फेरीयो
जिन्दगी फेरिएन ।
बाको पाली
फेरी उही पाठ पढाईयो
अब
अन्तिम पल्ट
यि बिस्टको बिरोधमा लढे पछी
मात्रै यो राज्यमा
जनाताको राज हुन्छ ।
दस्तबेजका उज्ज्याला
दिनको भ्रममा
परिवारलाई अध्यारोमा छोडेर
मेरा बा
शासकको बिरुद्ध लडे
र
जीवन त्यागे ।
तर
मात्र पात्र फेरिए
रिती उही पुरानो चल्यो ।
अनी
म त झन
बन्दुक बोकेर
मुक्तिको भाषाण खोकेर
हिडेको मान्छे
मुक्तीको आसमा बन्दुक भिरें
लडें
भोकै लडेँ
लडाईं सकिए पछी बिसाएर बन्दुक
दाँजे आफ्नो जीवन आँफै सँग
फरक केही भेटिन ।
मेरो जीवन
मेरो गाउँ
मेरो छिमेक
जस्तो थियो उस्तै छ ।
हैन यो जनता भनेको को हो ?
म
मेरा बा
मेरा हजुरबा जनता हैनन ?
हुँन भने
हामी शासक भएको खै त?
प्रश्नको जालोमा बेरिएर
उत्तरका लागि
आज बजारबाट
केही शब्दकोस किनेर ल्याएको छु
किनकी
मलाई जान्नु छ
जनताको साँचो अर्थ ।।
बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)