कविता : होली

~नवीन प्यासी~nabin-pyaasi

तिमी होली खेल्न सिपालु मान्छे ।

कति पटक प्रहार गर्यौ ?
मेरो निधार निचोरेर मेरै छातीमाथि
तिम्रो अस्तित्वको लोला !

कति पटक रङ्ग्यायौ ?
मेरो रगत सुकाएर मेरै अनुहार
तिम्रो पहिचानको रङ्गले !

कति पटक मेट्यौ ?
मेरा भाग्य रेखाहरु मेरै हत्केलाबाट
र कोर्यौ मेरै हत्केलामा
तिम्रा सन्तानका रङ्गीन भविष्यहरु !

तिम्रो हाँसो त्यसै रङ्गिएको होइन ।

मेरो हजुरबाको कोदालीले पल्टाएको
माटोको राता पत्रहरुले बुनिएको हो
तिम्रो इज्जतको भादगाउँले टोपी

मेरो बाको मुटुबाट उत्पादित
स्वासको राता धागाहरुले बुनिएको हो
तिम्रो महङ्गो कोट र टाई

मेरो शिर कुरुष बनेर
मेरै राता छालाद्वारा तयार पारिएको हो
मेरै ढाडमाथि बज्रिने तिम्रो बुट ।

तिमी जुगदेखि
रङ्गमञ्च अँध्यारो बनाएर
नेपथ्यमा हाँसिरहेको मान्छे ।

अब मेरो लाशमाथि दन्किरहेको
रातो आगोले मनाउनु यसपालीको होली ।

यो नै तिम्रो अन्तिम होली हो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.