कविता : यो बैशाख बाट

~डेभिन बाबु~

यो बैशाख बाट –
अनुष्ठान हुँदैछ मेरो शुभेच्छुकवाद !
दिक्भ्रम यायावरहरुलाई लिएर
आरम्भ गर्दैछु म
दिग्विजयको यात्रा ! !

मेरो उर्दी छ,
यो चेतयुद्धको समराङ्गणामा
प्रत्यक सँग फूलहरुका तरवार होस्
प्रत्यक सँग पुष्पाञ्जलिका कवच होस्
घामहरु हारेर हरेक किङ्करहरुका चिरिएका पाऊहरुमा
सुर्योदयले चुमिदिऊन ! !

म यो बैशाख –
थाल्दैछु मनहरुका खेती कर्कलाका बोटहरु बाट
सुनगाभाका काण्डहरु बाट
गुराँशका हाँगाहरु बाट
प्रेममय औजारहरु बाट
म थाल्दैछु उसर उपनिवेश उखेलेर
उर्वर हृदयहरुको जोतखन्
जहाँ ठगका सरदारहरु अनन्त पराजयका शिकार हुन्छन ।

मेरो विश्वास सृष्टिको उत्तरदायित्वमा
मेरो आस्था सृजनाकौशलको
म सृङ्गारको भगवान ढोग्दिन
किनकी –
म घोर निरीश्वरवादी मानव पुस्ताका
हृदयङ्गम कविता हुँ ! !

यो बैशाख –
म गर्दैछु निराशावादको घोर अन्त्य
प्रेमिल मन मनका सम्भोग बाट
सुकुमार देशभक्ती र देशभक्त जन्माउन
हरेक वीरसु आमाहरुलाई प्रचोदन गर्दैछु ! !

म यस्पटक
सल्लाघारिहरुलाई प्रेम गीत सिकाउँदैछु
मनका कल्लोल तारहरु रेटेर
झुप्रा-झुपृभरी जीवन घन्किने आलापमा
किनकी –
यी सुजन लयमा मुग्ध वीरसुहरुले
आफ्ना उज्याला कोख बाट
धिरललित सपुतहरु गर्भाधारण गर्नेछन ! !

यो बैशाखमा –
अनगिन्ती प्रश्नहरुका झुण्ड भिरेर
म भेट्दैछु बुद्ध र सोध्दैछु
पर्व पर्वमा हिङ्साका चरम दृष्य विम्बित हुनुपर्ने
यो देश बधशाला कि बुद्ध निवास ?

ठम्याउनु –
यहाँ कौरवहरुको बर्चश्व छ
म यो जुवागरमा पाशा थाप्दिन
समावेसी आवाज त गीतहरुको लय मात्र हो
किनकी –
देश सम्याउनु त
काठ्माण्डुका इमारती शहर ध्वस्त हुनुपर्छ ! !

यो बशन्त बर्ष बाट
मान्छेहरुको युगको अनुष्ठान हुनेछ
सघन मान्छेहरुको बगैँचा बाट
म गाउनेछु मान्छेहरुको गीत
मान्छेहरुको दील बाट म
मान्छेहरुमा मान्छेहरुकै पृत लाउनेछु

र अन्तत :

एक धर्सो बस्त्रले नाङ्गो ढाक्छ भन्ने अचेत सन्सार
एक पाईलाले सन्सार छिचोलिन्छ भन्ने द्रवित दुनियाँ
म यस बैशाख बाट
गर्दैछु पुर्णविराम !
गर्दैछु पुर्ण समापन !!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.