~कमल कुमार~
डाँफे लेकमा
उड्दथ्यो,
फुल्दथ्यो सपनाका गुराँसहरु
हावा चल्दा
नाच्दथे
बेसीँमा धानका बालाहरु
सुसाउँथिन् तिला
माधूर्य बैँसमा
पसीना पोखिन्थ्यो माटामा
सपना फूल्दथ्यो माटैमा
स्याउ फल्दथे गालामा
कठै जुम्ला
अमूर्त सपनाका दोकानहरुले
बस्तीलाई कुरुप बनाएका छन्
पसीना पोखिन्छ विदेशको चौकिदारीमा
डाँफे लेकको डाँफे
कैद छ स्नोल्याण्ड होटलमा
जहाँ खचाखच एन जि ओ कार्यकर्ताहरु
कथित विकटताको खेतमा
रोप्दैछन् सपनाका विजहरु
कठै जुम्ला
रोपे हुन्थ्यो नि बरु
स्याउका बोटहरु
(स्रोत : रचनाकारको ब्लगबाट सभार)