~महेश पौड्याल~
सन्तोष दुई कक्षा पास गरेर तीनमा पुग्नुलाई ठूलै समाचार मानियो । ऊ कक्षामा निकै कमजोर मानिएको विद्यार्थी थियो । बुवाआमा सधैँ स्कुलमा आएर गुनासो गरिरहन्थे । उसको पढाइमा खासै सुधार नभएकोमा सबै चिन्तित् थिए । स्वस्थ सन्तोष, जिउ पनि तन्दुरुस्त नै थियो । घरमा पनि पढेलेखेका बावुआमा । ऊ कमजोर नहुनु पर्ने । तर कमजोर निस्कियो, र सबैलाई दुःखी तुल्याइदियो । उसको व्यवहार र चरित्रमा भने कुनै समस्या थिएन । हेर्दा पनि राम्रो र टुपुक्क परेका थियो । सबै उसलाई असाध्य माया गर्थे ।
परीक्षा चलिरहेको थियो, र त्यसदिन नेपाली विषय परेको थियो । निवन्धमा आफ्नो परिवारको वारेमा लेख्न भनिएको थियो, र बुवा आमको कस्तो जागिर छ भनेर विषेश उल्लेख गर्नू भन्ने निर्देशन थियो । सन्तोषले लेखिदियो, “मेरो बुवा रक्सी खान्छ अनि अरुसँग तास् खेल्छ । मेरो आमा बुवासँग झगडा गर्छ । ”
पछि कापी जाँचियो र जे हुनु थियो त्यही भयो । सन्तोष फेरि अनुतीर्ण । शिक्षकहरुबीच चर्चा चल्यो । कसैले सन्तोष सुस्त मनस्थितिको हो कि भन्ने आशङ्का गरे भने कसैले घरको वातावरणमा शङ्का प्रकट गरे ।
नेपालीका गुरु अरुणीले यो पछिल्लो तर्कलाई समाउँदै भने, “त्यो हुनसक्छ । उसले नेपाली कापीमा के लेखेको थियो थाहा छ? मेरो बुवा रक्सी खान्छ अनि तास खेल्छ । मेरो आमा बुवासँग झगडा गर्छ । ”
सबै गललल हाँसे । कति निर्दाेष र इमान्दार उत्तर थियो सन्तोषको, तर त्यसमा कसैको ध्यान पुगेन । कुरो प्रिन्सिपलका सम्म पुग्यो ।
भोलिपल्ट बिहानै प्रिन्सिपलले सन्तोषका बुवालाई बोलाउन लगाए । दसबजेतिर सन्तोषका बुवा स्कुलमा आइपुगे । प्रिन्सिपले सन्तोषको कापी देखाउँदै भने, “सन्तोषले त यस्तो लेखेछ नि । ”
बुवाले कापी पढे, र लज्जाले सिर निहु¥याएर धेरैबेर चुपचाप बसिरहे । प्रिन्सिपल कुर्लिए, “घरको वातावरण यस्तो भएपछि बच्चाले पढ्न सक्छ?”
धेरै बहस गर्न चाहेनन् सन्तोषका बुवाले । कापी बोके, र जुरुक्क उठेर त्यहाँबाट बाहिरिए ।
धेरैदिन सम्म सन्तोष स्कुल आएन । पछि सुनियो, त्यसैदिन बेलुकी घर पुगेपछि बुवाले कुट्दा उसको हात भाँचियो अरे ।