~अरुणबहादुर खत्री “नदी”~
पुस्तक बिमोचनको निमन्त्रणा पाएर एकदिन म प्रज्ञा भवन पुगे ।
प्रज्ञा भवनमा पुस्तकको विमोचन कार्यक्रम सकिएपछि मैले पुस्तक लेख्ने कृतिकारलाई अनुरोध गरेँ,”आज बिमोचन भएको एकप्रति पुस्तक मैले पढ्न पाउँ ।”
कृतिकारले उत्तर दियो,”सभाहलको बाहिर बिक्रीमा राखेको छ, किनेर लैजानुस न !”
“तपाईको पुस्तक पढेर समीक्षा लेखेर कुनै पत्रिकामा छपाउन दिन्छु नि,” मैले भने ।
उसले मलाई एकप्रति पुस्तक सम्बोधन गरेर दियो र भन्यो,”छापिएपछि मलाई कुन पत्रिकामा निस्क्यो थाहा दिनुहोला ।”
त्यस कार्यक्रममा पुगेको अर्को व्यक्ति रामप्रसादले पनि उसको पुस्तक पढ्न माग्यो ।
“म निःशुल्कमा पढ्न दिन कसैलाई पनि सक्दिन आजको दिन मेरो बिमोचन भएको पुस्तक तीस प्रतिशत छुटमा तपाईले किनेर लैजान सक्नुहुनेछ,” कृतिकारले भन्यो ।
“मसँग पुस्तक किन्ने पैसा छैन मलाई तपाईको पुस्तक पढ्न मन लागेको छ,” रामप्रसादले दोहोर्याएर भन्यो ।
कृतिकारले उत्तर दियो,”निःशुल्कमा मैले मेरो पुस्तक कसैलाई दिए भने उसले मेरो पुस्तकको महत्व नबुझेर घरमा पुग्नेबित्तिकै सिरानीमा राख्छ । किनेर लग्यो भने पुस्तकमा मेरो पैसा लगानी गरिएको छ मैले जसरी भए पनि यो पुस्तक पढ्नै पर्छ भनेर उसले नपढी छाड्दैन ।”
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)