कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

बदलिन्छ घडी, बदलिईरहन्छ पला
तर, साक्षात्कारमा
तिनै सञ्चो-बिसन्चोका कुरा
कहिले दु:ख र सुखका कुरा
कहिले मिलन र विछोडका कुरा
कहिले काँढाघारीका कुरा
कहिले फूलबारीका कुरा
एकैछिन मनलाई शान्त्वना दिने कुरा।
**
फेरिन्छ साता, फेरिईरहन्छन् पक्षहरु
तर, संक्षिप्त बार्तालापमा
तिनै समसामयिक कुरा
कहिले पोहोरको खेतीको कुरा
कहिले अहिलेको जाडोको कुरा
कहिले तिम्रो र मेरो कुरा
कहिले तपाईं र हाम्रो कुरा
एकाध दिन सम्झाउने-बिर्साउने कुरा।
**
फेरिन्छ महिना, फेरिईरहन्छन् ऋतुहरु
तर, विरलै भेटमा
तिनै पहिले र अहिलेका कुरा
कहिले दिल बिझाउने वेदनाका कुरा
कहिले मन रिझाउने संघर्षका कुरा
नियति जस्तो
कहिले सापटीले गर्जो टार्दाका कुरा
कहिले प्रगतिले अघि पार्दाका कुरा
खालि, बसिबियाँलोमा विगत ब्युँझाउने कुरा।
**
आफै घिस्रिईरहन्छ समय, स्वचालित गुज्रिन्छ समय
तर, छोटो भलाकुसारीमा
तिनै तिलचामले कुरा
कहिले बालसखासँगै रीपतिर बरालिंदाका कुरा
कहिले मान्बुबाट आरुघाटतिर ओरालिंदाका कुरा
कहिले अर्काको पौरखमा लडीबुडी खेलिहिंड्दाका कुरा
कहिले नि:शर्त जिम्मेवारीबोधका कुरा
एकैछिन वास्तविकता साँटेर सन्तुष्टी लिने कुरा।
**
अविराम छ समय, बदलिईरहन्छन् क्षणहरु
तर, पातलो भेटघाटमा
तिनै छासमिसे कुरा, बेफुर्सदका कुरा
कहिले बैंशले बीस काट्दाका कुरा
कहिले आफ्नासित मन साँट्दाका कुरा
कहिले दँगेरे र दाइँ-बरातुका कुरा
कहिले ब्यार्थैमा अरुको खोजीनितिका कुरा
समग्रमा आफ्ना भावना साँटेर मन बहलाउने कुरा।
**
परार, पोहोर, अनि सँधैं
प्रत्येक नयाँ वर्ष
आम वैयक्तिक माहोलको
सहज पुनरावृत्ति जस्तो
करीब हुबहु
कुराका पुरानै सिलसिला
बस्, उस्तै लाग्छ आउने वर्ष,
बारम्बार जुर्दैन
उल्लेख्य उपलब्धीको साईत,
बरु, निष्ठुरी
संशयका बादलभित्र
केवल एक-चौथाई सपना उजिल्याउँछ नयाँ समय
आशाको एकोहोरो अनुमोदन गर्छ नौलो दिन
अनि,
अपार भोगाईका भेलबाट
ङिच्च दाँत देखाएर
श्रृङ्खलावद्ध
सुदूर सम्झनाको एउटा बहुरङ्गी “नोस्टाल्जिया”
उकल्च्याउँछ, र बाटो लाग्छ
एकपछी अर्को नयाँ वर्ष।
** **

नयाँ वर्ष सन् २०१४ का अवसरमा…

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.