~पदम गौतम~
एक्लो भएँ म एक्लो, थाकेर आउँदैछु
सम्झेर काख खाली, ताकेर आउँदैछु
बस्थ्यौ तिमी सधैँ नै, एक्लै उदास मान्दै
हाँसो खुसी वसन्ती, डाकेर आउँदैछु
मान्छे बनूँ भनेरै, खार्दैछु आज धेरै
भुङ्ग्रो बनेर आफैँ, पाकेर आउँदैछु
इर्ष्या गरेर बाटो, छेक्दा म भाग्छु उस्तै
आफ्नो शरीर पूरै, ढाकेर आउँदैछु
फिक्का छ जून आफैँ टुक्रेर हुन्न केही
माग्दै तिमी म धर्ती, भाकेर आउँदैछु