~प्रकाश सुनुवार ‘निराकार’~
जबसम्म सक्षमहरु
समानताको हक दिलाउन छोडेर
समानता स्थापित गर्न छोडेर
धर्मको विपरित हुन्छ भन्ने भयले
अपराधको दाग लाग्छ भनी
गुरुदक्षिणामा आप्mनो बुढिऔंला दान गर्ने एकलब्यहरु
पुनः यस दुनियाँमा प्रकट भइरहन्छन्
तबसम्म असक्षमहरुको समानताको के कुरा ?
धर्मलाई ढाल बनाएर
आप्mनो विरासतलाई इश्वरीकरण गर्नेहरु
पाप र पुन्यको जाल बुनेर
मान्छेहरुमाझ जालझेलको पर्दा भित्र
मानवताको बध गर्दै
समानताको लडाईलाई ओझेलमा पारिरहन्छन्
अनि फेरि एकलब्यहरुको खोजी गर्छन् ।
एकलब्यहरु संधै पिडित हुनेहरु नै हुन्छन् ।
जुन कुरोको सृष्टि हुन्छ
त्यसको अन्त्य पनि निश्चित हुन्छ
दमनको उत्पत्ति भएको लामो भयो
त्यसको अन्त्य पनि निश्चित नै छ
धर्मले कसैलाई असमान व्यवहार गरेको हुंदैन
धर्मका पुजारीहरुको जालले समानता निर्लज्ज वनाउने हो ।
जिवित गाईको पुजा गर्ने पुजारीहरु
अर्को मान्छेलाई मन्दिर प्रबेशमा रोक लगाउंछन्
मरेको गाईको मासु खान लगाउंछन्
अनि छालाको खैंजडी र डमरु बनाएर
नाचगान गर्छन्
पुजापाठ गर्छन्
समानताको पक्षमा उठेका आवाजहरु दबाउन
फेरि पनि एकलव्य निर्माण गर्छन् ।
आप्mनो हकहितको निमित्त लड्नेहरु विरुद्ध
सशख्त अनि आपत्तिजनक कानून वनाउंछन्
अनि छानीछानी तिनीहरुलाई अपराधी घोषणा गर्छन्
अस्तित्व समाप्त पार्न जालझेल गर्छन्
धर्मको रापले मार्ने विधिहरु निर्माण गर्छन्
त्यसैलाई आधार वनाएर
समानताको वकालत गर्ने
वुद्धहरुलाई समेत लखेट्छन्
त्यतिखेर पनि एकलब्यहरु जन्मिरहेको हुन्छन् ।
(३ जलाई २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)