कविता : फूलमायाले छोरालाई भन्छिन- कमसेकम जुवा त खेल

~अनिल नेम्बाङ~

धन बहादुर नाम जस्तै थिए-
तीन तले घर, नब्बे मुरी कुत आउने खेत,
धपक्क बलेकी श्रिमती-अरु के कुरा गर्नु।

६२ सालमा-
जुवामा च्याखे थाप्दा एक हल गोरु पनि जोडे
हौसिएर त्यहि दिन देखि उनले कौडि समाए
जुवा खेल्न नजान्ने धन बहादुर-
अरुले ‘तेरो पालो’ भन्दा कौडि छरेर बेस्सरी छाति पिट्थे
‘छक्का’ भन्दा मात्र पैसा सोहोर्थे
ठ्याक्कै मेरो नेता जस्तो।

पहिलो साल-जोडेको हल गोरु घटाए
दोस्रो साल-कुत आउने खेत
तेस्रो साल-तीन तले घर
क्रमशः गोठको दलान, विहेको औँठि, सोल्टिनीको चिनो घडि…
साईनो र सम्बन्ध त अस्ति नै हारिसकेका थिए
धन बहादुर आज धने भएको छ
लाग्छ त्यो घइते धने मै दुखिया जनता हुँ।

आज धने-
५ रुपैयाँ भेट्ने बित्तिकै
सप्पै सप्पै फर्काउने मृगतृष्णामा
जुवाको निम्तो बाँडिबस्छ
जुवा घर धाइबस्छ
अब त श्रिमतीको मुख लोपार्दा औँला अल्झिने नाकको फुली पनि छैन
७२ सालमा मात्र सुनेको-श्रिमती पनि पोइला हिँडिन रे।

हिजो पनि धनेलाई जुवा अड्डामै देखेँ
अनि अलि पर उदाङ्गो गोठमा
सेतै फूलेकी आमा-फूलमाया
यो महाअभागि देश जस्तै।

आजभोली त फूलमाया
हातमा ५ रुपैँया थमाइदिँदै भन्छिन रे-
‘जुवा खेल्दा त कि आउँछ कि जान्छ
हाम्रो दाउ कहिल्यै आएन
घिन लाग्दो राजनीतिक खेल हो या हाम्रो नियाति
छोरा! सत्ते तिमीले जुवा खेलेकै होइनौ
कमसेकम जुवा त खेल
की आउँछ कि जान्छ।’

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.