~बुद्धिसागर~
जिन्दगीको फूल रोप्ने यहाँ कुनै हाता छैन
आस्थालाई बचत गर्ने यहाँ कुनै खाता छैन
धनी गरीब उँचनीच यही हाम्रो रीत भयो
सबै अट्ने समानताको यहाँ कुनै छाता छैन
छुट्याइदियो रातो रङ्ग धर्के खरानीले यहाँ
मान्छे-मान्छे बीच पनि यहाँ कुनै नाता छैन
खैले आउँछ आँधीबेरी कैले बाढी भेल यहाँ
शान्तिसँग बिताएको यहाँ कुनै साता छैन
जो-जो आए सबै आए शासन चलाउनै आए
स्वतन्त्रता दान दिनै यहाँ कुनै दाता छैन
(स्रोत : प्रतिनिधि नेपाली गजलहरू – गजल सङ्ग्रह – सम्पादन : ललिजन रावल)