~त्रिभुवनचन्द्र वाग्ले~
हिमालले सिकायो गर्वले उठ्न
विनम्रतामा तराईले झुक्न
परन्तु सिकाए नेपाल आमा
नेपाली भई एकतामा जुट्न………………..२
चिनारी काली पश्चिममा कुद्छ
चाँदनी–दोधारा काखमा सुत्छ
पूर्वमा मेची पहरेदार
गर्जेको सीमामा खबरदार ……………….२
यो आँगन चर्चेको पितापुर्खाले
इतिहास बोल्छ नि ! खुँडाखुर्पाले
शान्ति र शिक्षा भृकुटी, बुद्ध
गाउँछ नेपाली वीरको गीत
यो देशको माटो लगाई शिरमा
श्रद्धाले झुक्छौं नि ! ती योद्धा वीरमा
यो देशको माटो लगाई शिरमा
उचालौं झण्डा चैतन्य बलमा…………….२
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )