~निर्मोही व्यास~
“काला गए गोरा आउँछन्” सुन्दा दिन–राती
पर्खी बस्थेँ स्वागतमा लाखबत्ती काती
नआउन्जेल को हो, के हो, आएपछि था भो
यस्ता गोराभन्दा बरु काला नै पो जाती
बडा घरको बडै चाला, छाती फराकिलो
आफन्त छन्– संसारकै मानवताघाती
लाज–सर्म, दया–धर्म शब्दकोशमै छैन
कुरा भने औधी मीठा, काम खुराफाती
आदर्शको ढ्वाङ फुक्ने छाप्रे–हजूरका
राजधानीमा ठडिँदै छन् महलका ताँती
मान्छेभन्दा वन्यजन्तु प्यारा हजूरलाई
साटिँदै छन् चेलीबेटीसित गैँडा-हात्ती
ढाँटे पनि प्रस्टैसित चिन्छ ”निर्मोही” ले
बाहिर हजूर लालुपाते, भित्र तितेपाती
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)