~मसान उपासक~
यो विर्सदै गरेको समय तिम्रो हो
माफ गर! म वर्तमान भोगीरहेको छु ।
मध्यान्नमा यात्री पर्खिरहेको उदास मूल बाटो
साँझमा एक्लै छाडिएको घाँसी कुुवा
यात्री हिडेको सडकमा सुसाइरहेको हावा
भानु, कहाँनेर तिम्रो गाउँ सुखी देखिन्छ।
इमानमा किसान माटो बोकेर रुनुपर्छ
जुवाघरबाट हरेक अभिभावक हारेर फर्कन्छ
मुक्तिको गीत गाउने मानिस
आफ्नै वहिनीलाई बेचेर घर आउँछ
सपनाको वगैचामा आँधी पस्छ ,फूल भाँच्छ
त्यही समय युवकहरु खाडी ओर्लन्छन्
ठान्नु, गाउँमा निराशा मात्र भेटिन्छ ।
तर ,आफ्नै प्रेमिकाको केशको रातो गुराँस
वादलको टुक्रासँगै कता पुगेछ ?
सिउँदोजस्तै अनुहार पनि फुङ्ग उडेको देख्छु
क्षयरोगी बाबा यसै हल्लिरहेको भेट्छु
करेसावारीमा आमा एक्लै रोइरहेको सुन्छु
केही नसोध कविज्यू,
दुःखेको थाहा पाउँछु वस अरु थाहा छैन ।
प्रिय कवि ज्यू ,
कुनै दिन आकाश उज्यालिनेछ ।
यति अप्ठ्यारो कुदेर कोही नथाक्ला र !
समय लखतरान गलेर घर फर्कनेछ ।
मान्छेका सखद् कथाहरुलाई
वरीपरी घेरिएर आमाले भन्नुहुनेछ
छातालाई काँधमा अडाएर
बाबा, चौतारी पुग्न हाँस्दै हिड्नुहुनेछ ।
यस क्षण,एउटै रहर बाँकी छ
कि तिम्रो काखमा वौरिएर बाँच्दा
आमाको हँसिलो अनुहार हेर्न पाए
प्रेमिकाको सिउदो आफैले रङ्ग्याउन पाए
जुनलाई टिप्न नसके पनि
बाँकी भन्नु केही हुने छैन ।
छतिवन-५, मकवानपुर
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)