~सुदिप पाख्रीङ~
बर्सातमा….
आफ्नो धार छाडी किनारबाट
उक्लन्छन
र, कुद्छन
छानाहरुमाथि बाट
गल्लीहरुमा,
चौकहरुमा अफ्ठ्यारै नमानी
बर्सातमा….
नग्न खोलाहरु
बगरहरु उक्ली सतहबाट
हुइकन्छन्
र, उर्लन्छन मानिसहरुमाथि
बस्तीहरुमा,
गाउँहरुमा लाजै नमानी
बर्सातमा….
धमिलो, आँखा नभएको
मृत्युमको छायाँ सल्बलाउँदछ – पानीमा
बर्सातमा….
मृत्युम
स्वयं गड्गडाउँदै बग्दछ –
पानीमा
बर्सातमा नै त….
कुवाभित्रका भ्यागुताहरु
घमन्डले अझ उन्मत्त भै टर्टराउने
गर्दछन
आफु मात्रै ‘ठूलो’ हुनुको भ्रममा
‘हुनु’ हुने गर्दछन – बर्सातमा !
‘नहुनु’ पनि हुने गर्दछन – बर्सातमा !!
त्यसैले
बर्सातमा….
बोल्न खोज्नेहरु नबोल्नु
बर्सातका झर…. झर…. माझ
‘बोल्नु’ को औचित्य
कहाँ हुन्छ र ?