कविता : समकालीन वाणी

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

के के न धमाका मच्चाउला जस्तो
आकाशका तारा खसाउला जस्तो
परिवर्तनका
फाट्टफुट्ट झिल्का पँजाउने नाउँमा
बस्तीकै अमर शान झैं,
गजक्क, गुराँस फुल्ने थुम्कामा
डोजरले थुतुनो बजारे पनि
चारहाते कच्ची सडक
झुपडीका बलेनीसम्मै उतारे पनि
समयगत अनुगमन,
र जिम्मेवारीबोधका अभावमा
स-प्रमाण
हिंउँदमा बङ्गसुर धुलोको राज
र, बर्खामा हिलाको जगजगी बाहेक
प्रगतिले पूर्णता नपाएपछी
योजनाहरु, वातावरण-मैत्री नभएपछी
छँदाखाँदाको भरिलो प्रकृति खल्बल्याएर
बैंशालु लहडमा
बेवारिस योजना पटाउनुको के काम,
अस्थायी
छ-मासे सुखको के दाम?
**
के के न चमत्कार जुराउला जस्तो
रातारात उपाय फुराउला जस्तो
विकासका नाउँमा
सर्लक्कको बारीको पाटो उधिनिए पनि
झपक्क मुसे-खरु पलाउने
चेप्टा कान्लाहरु भत्काइए पनि
स्वत:स्फूर्त
तमाम ग्रामिण सरोकारवालाका
गुनासा नहेरिएपछी
गरीबका दैनिकी नफेरिएपछी
आलोकाँचो
निस्तो आश बाँड्नुको के काम,
क्षणिक
खहरे खुशीको के दाम?
**
के के न तमाशा जुटाउला जस्तो
पत्थरकै पहाड फुटाउला जस्तो
राजनैतिक चेतना भर्ने निहुँमा
समूहगत नारा चर्काए पनि
टाठाबाठालाई आफुतिर मर्काए पनि
दूरदृष्टी,
र गाउँ-केन्द्रित बलिदानी नभएपछी
जानाजान
आफ्नोपन बन्दकी राखेर
हुँदाखाँदाका समन्वय खल्बल्याएपछी
निस्फिक्री, शहरगामी हावाले
दिनदिनै
रित्तिंदै गरेका गाउँमा
एक पसर
कट्मिरो सपना छर्नुको के काम,
आफ्नैलाई पराई तुल्याउने
नौटंकी राजनीतिको के दाम?
**
के के न त्यागको भल बगाउने जस्तो
संसारमैं नभा’को फल फलाउने जस्तो
प्रेमको उदाहरण पस्किने निहुँमा
“माया” का दश मन्त्र फलाके पनि
वाचाका बीसौं राग अलापे पनि
आधी-बाटैमा
स्वार्थले स्वर लर्बरिएपछी
मतलबी सम्बन्धले परस्पर विश्वास खल्बलिएपछी
झुठो कसमको पर्दाफास बीच
निष्ठुरी
बेसारे नाताको के काम,
बिल्कुल
नाफा-घाटामा जोखिने मायाको के दाम?
**
समसामयिक
यीनै लुकामारी र जोड-घटाऊको
अकर्मण्य
साक्षी बनिरहेछ समग्र समय
यथार्थ बकिरहेछन् समकालिन परिदृष्य
चरणबद्ध
दूरदर्शी ठोस योजना विना
कदापी मुहार फेर्दैनन् सारा गाउँ,
अग्रगामी
दृढ सङ्कल्प विना
झुठा आश्वासनका खेती गर्नेहरुलाई
नायकीमा दिनु हुँदैन ठाउँ,
सरासर
अलिक ओजस्वी सान्दर्भिकता विना
सस्तो लोकप्रियताका लागि
बिनसित्ति बिक्नु हुँदैन नाउँ,
स्वच्छन्द
पवित्र समर्पण विना
रकमी-नाताले बनाउँछ दिलमा घाऊ,
गाँठी कुरा
आपसी विश्वास र सामञ्जस्यतालाई धुलिभकुन्नो पारेर
घघडान सम्वृद्धीका सपना नसजाऊ!
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.