~रञ्जुश्री पराजुली~
दसैं सकिई तिहार आयो रमाइलो भयो
चारैतिर वरिपरि झिलीमिली भयो
माला राम्रा मखमली गाँस्ने बेला आयो
अनरसा र सेलरोटी पाक्ने बेला आयो
चामल पीठो गाईघ्यू बन्दोबस्त भयो
सेल मीठो पार्न भनी सख्खर चिनी आयो
आमा दिदी काकी फुपू सेल हाल्न बसे
साना भाइ बैनी भने सेल खान बसे
तापको आँच नमिले सेल राम्रो बन्दैन
सेल हाल्ने सिप पनि जो कोही जान्दैन
तातो घ्यू छल्किएर पोल्ने धेरै डर
विचार धेरै नगरेमा हुन्न यसको भर
सेलरोटी नपकाए तिहार शून्य हुन्छ
लक्ष्मीपूजा गर्न घरमा सेलरोटी पाक्छ
दाजुभाइको भागमा पनि सेलरोटी पर्छ
देशविदेश संसारभरि यसको वास्ना चल्छ
पहिलो वान सेलका भाग पर सार
त्यसपछि केटाकेटी सबैलाई बाँड
भैलीलाई दिनुपर्छ केही बाँकी राख
पाकेपछि ताप आगो छिनोफानो गर ।।
(स्रोत : केटाकेटीअनलाईन डट कम)