~सीता थारू ‘निश्छल’~
कोही जाग्ने कोही सुत्ने कस्तो तक्दिर यो ?
थुक्क ! मिलेर पनि छुट्ने कस्तो तक्दिर यो ?
जिन्दगीको डोरी बलियो बनाउँदा–बनाउँदै,
आधा त्यो बाटोमै टुट्ने कस्तो तक्दिर यो ?
यो तक्दिर के चीज हो, हेर्न पनि नमिल्ने,
कैले जुट्ने कैले फुट्ने कस्तो तक्दिर यो ?
मीठो खान राम्रो लाउन कहिल्यै नपाउने,
सँधैको काम ढिकी कुट्ने कस्तो तक्दिर यो ?
कोही चन्द्रमा पुगे, कोही धर्तीकै धुलो
आफ्नैले आफैलाई लुट्ने कस्तो तक्दिर यो ?
(स्रोत : परगोह्नी गजल संग्रह)