संस्मरण : आकलझुकल आउने कुराहरू

~माधवलाल कर्माचार्य~madhablal-karmacharya

गोविन्दबहादुर मल्ल गोठालेको कुरा गर्दा साहित्यकारको नाताले केही यस्ता कुराहरू पनि छन्- जो आकलझुकल मानसपटलमा आउने गर्छन् ।

धेरै वर्ष अगाडि साल-मिति याद भएन, एक दिन आर्यघाटबाट घाट लगिराखेका उनका बाजेलाई हेरी फर्कंदै थियौँ । कमलपोखरी काटेपछि मानिसको विचित्रताको कुरा कोट्याई उनले भने-सिकिस्त भई मर्न नसकी रहेकोलाई भर-पत्यारको मान्छेले अब तिमी मर्दैनौँ बाच्छौँ भनिदियो भने शीघ्रै मर्ने रहेछ ।

बाटोभरि के सोचेर आएँ, के गुनेर गएँ, त्यो त थाहा भएन, पछि सुनियो उनका वृद्ध बाजे धेरै बाँचेनन् र उनको एउटा मृत्यु भन्ने कथा प्रकाशित भयो । जसमा परिवेश र पात्र भिन्न भए पनि विषय त्यही नै थियो ।

स्वभावतः घत लाग्यो- उनी विषय पहिल्याएर कथा लेख्छन् कि कथा पहिल्याएर विषय अघि सार्छन् ।

साथीको दाजु भएकाले उनको घरमा बिहान/बेलुका आवतजावत भइरहन्थ्यो र उनका गाउँ ठाउँ चिनाजानी आदि विषयमा धेरै थोरै थाहा भइरहने गर्थ्यो । अनि सहजै अन्दाज गर्न मन जान्थ्यो । यो विषय, यो सम्बन्धी हो, यो कथा यो कुराको हो । उनको नजिकैको आवतजावत हुने सिद्धिचरणको घरको दक्षिण फर्केको छिँडीको पूर्वी छेउको कोठामा कुनै गरिब मानिस बस्ने गरेको देखेको थिएँ, जसका बच्चाहरू टोलछिमेकका बच्चाहरूसँग दौडादौडी गरी खेलिरहेका हुन्थे । मलाई लाग्यो-हो न हो, उनको ‘लक्ष्मीपूजा’ शीर्षक कथा त्यही गरिबको बालकको त होइन, जसले बालसुलभ आस्था र विश्वासलाई सँवरण गर्न नसकी अरू साथीहरूले जस्तै लक्ष्मीपूजा मनाउन, चोर्ने, लुट्ने अपराध गरेको थियो ?

त्यसरी नै उनको पुरानो घरको भित्री चोकमा इँटको छेकवार ठड्याई अग्लो पारी राखिएको पाइप-धारामुन्तिर बसी घरका भाँडाकुँडा माझिरहने काम गर्ने एउटा भर्खरको जवान ठिटोलाई बराबर देख्ने गर्थेँ । उनको ‘भाँडो’ शीर्षक कथा हो-न हो, त्यसै दृश्यबाट अभिप्रेरित भएको त होइन ? जस्तो लाग्थ्यो । जसको विषय स्पष्टतः घरमा काम गर्ने जवान नोकर-चाकरलाई कुलिन घरका युवतीहरू भाँडो सिवाय अरू सम्झँदैनन् भनी देखाइएको देखिन्छ ।

त्यसरी नै एकपटक उनीहरूको भक्तपुरको पुरानो घरमा पुगेको थिएँ जसमा स्वचर्चित एउटा बारी थियो र साथै त्यहाँ केही वस्तु र कुखुराहरू पालिएका थिएँ । त्यो घरको रखवारी गर्न एउटा किसान परिवारलाई बस्न दिइएको थियो । ज्यादा आशक्तिले चेत गुमी सर्वनाश हुनजान्छ भन्ने आसयको ‘त्यसको भाले’ शीर्षक उनको कथाको उद्गम हो-न हो त्यहीँको परिवेशबाट भएको हो कि भन्ने लागेको थियो ।

त्यसरी नै जार काट्न पाइने भए पनि सहरीयाहरूसँगको नजिकको सम्बन्धले तर्कवितर्क गर्ने भएकोले र स्वास्नीलाई ज्यादा माया गर्ने भएकाले पोइल गएकी स्वास्नीको पोइले जार काट्न सक्तैन भन्ने विषय बोकेको ‘एउटा पुरानो कथा’ शीर्षकको कथा काठमाडौँ नजिकैको गोकर्णतिरको गाउँको परिवेशमा लेखिएको जस्तो लाग्यो, जहाँ उनीहरूको पारिवारिक स्वामित्वको जग्गा थियो, जहाँ उनीहरू कहिलेकाहीँ जाने वा बस्ने गर्थे ।

यसरी नै अन्दाज गर्दै जाँदा उनको ‘खेल’ शीर्षक कथामा पनि एउटा सानो जातको मानिएको केटोले ठूलो जातको मानिएकी एउटी केटीलाई भगाएर लगी केही दिनपछि फर्काएर ल्याएको कुरा छ-उनको आफ्नै एकजना आफन्तले त्यो बेलाको शासकवर्गको साइनो पर्ने एकजना केटीलाई भगाएर लगी एक रातपछि फर्काएको ‘साहसिक कुरा’ मा आधारित हो कि जस्तो लागेको थियो, जुन साहसिक कुरा मैले कसैबाट सुनेको थिएँ ।

जे सुकै भए पनि, प्रतिपादित वा प्रतिपादन गरिएको विषयवस्तु कथामा प्रस्तुत गर्ने तौरतरिकामा उनी फ्रायडको सिद्धान्तबाट ज्यादा प्रभावित भएको महसुस हुन्थ्यो, जुन सिद्धान्त त्यो बेला शिक्षित तथा साहित्यिक समाजमा चर्चा-परिचर्चाको विषय थियो । अस्ट्रिया देशका मनोवैज्ञानिक डा. सिग्मन्ड फ्रायडअनुसार मन-मस्तिष्कधारी मानव प्राणीमा तीन विभिन्न खण्डमा विभाजित तीन विभिन्न तहको चेत हुन्छ र तिनमा तल्लो तहको चेतलाई त्योभन्दा माथिल्लो तहको चेतले नियन्त्रण गर्दछ, र त्यो माथिल्लो तहको चेतलाई समाजमा प्रचलित आचारसँहिता विपरीत केही गर्न नपाओस् भनी सबभन्दा माथिल्लो तहको चेतले निगरानी र नियन्त्रण गरेको हुन्छ भनी बुझिएको थियो । उनले प्रस्तुत गरेका कथाहरूमा धेरैजसो पात्रहरू विवेकपूर्ण कार्य गर्ने नभएका र भए पनि सजग र सचेत भई बुद्धिमानीपूर्वक गर्ने नदेखिएकाले, हो न हो, उनी तीन पात्रहरू फ्रायडको सिद्धान्तअनुसार क्रियाशील चेत भएका हुन्, होइनन् विश्लेषण गरी हेर्थे र को कतिसम्म तहको चेत भएको हो, हेरी तिनीहरूको कार्यव्यवहारलाई त्यही अनुसार निर्देशित भएको रूपमा प्रस्तुत गर्थे । यसबाट उनी पाठकलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले आफ्नो कथाद्वारा त्यो सबभन्दा माथिल्लो तहको चेतलाई क्रियाशील बनाउन सजग तुल्याउने गरेको स्पष्ट हुन्छ ।’भाँडो’ कथामा युवतीको चित्रण, ‘म जुजुमान’ कथा सहरीया सभ्य भनाउँदाहरूको चित्रण, ‘आधार’ कथामा जान्दाजान्दै अनैतिक काममा सँलग्न भएको चित्रण, ‘मोड’ कथामा जानीजानी अन्याय र जालझेलपूर्ण जिन्दगी कायम गर्ने पात्रको चित्रण यसैको उदाहरण हो । क्रियाशील तुल्याई हाले पनि विवेक पुर्याइ नगरेमा हुन जाने परिणतिको उदाहरण जँड्याहाको बेसुरले बेमतलबले मारिन गएको एउटा निर्दोष केटोको कुरा भएको ‘बेसुर’ शीर्षकको कथा र यस्तै बेसुरले गर्दा झण्डै आत्महत्या गर्न पुगेको एउटा निष्फल प्रेमीको कुरा भएको ‘प्रेम र मृत्यु’ शीर्षक कथा पनि हुन् ।

यसरी होसियारीपूर्वक आफ्नो जिम्मेवारी बोध गरी गहिरिएर पात्रहरूको कार्यव्यवहारलाई पनि ख्याल राख्ने कथाकार आफूले लेखेको कथा, कथावस्तु र कथाकारितामा आश्वस्त देखिए पनि, त्यसै भएअनुसार, थाहा भएसम्म त्यस विषयमा राय-सुझाव, टीका-टिप्पणी सुन्न त्यति चासो राख्ने नदेखिए पनि २००४ सालतिर आफू ‘शारदा’ को सम्पादक भएपछि आफ्नो ‘कहानी सङ्ग्रह’का बारेमा मलाई लागेको कुरा लेखाइ मागे र त्यसलाई उनले पत्रिकामा छपाइ पनि दिए । त्यसबाट हौसिएर मैले अरु साहित्यकारहरूका कृतिहरूको विषय पनि लेखेँ, र उनैको अनुरोधमा उनैको नाटक ‘च्यातिएको पर्दा’ र उपन्यास ‘पल्लो घरको झ्याल’ विषयमा पनि लेखेँ ।

उनको साहित्य, उनको साहित्य वस्तु र साहित्यकारिता विषय बेग्लै, छुट्टै धारणा बन्दै गयो र त्यो बेला टड्कारो बन्न पुग्यो जब म प्रज्ञा-प्रतिष्ठानको योजनाअनुसार भारत, पाकिस्तान, बङ्गलादेश, म्यानमार, गणतन्त्र चीनका केही आधुनिक कथाहरूको अनुवाद गर्नमा सँलग्न हुन पुगेँ । यसैक्रममा मलाई लाग्यो-आजको हर कथाकारको हर कथा समाजको एउटा सानो सानो नमुना सर्वेक्षण हुन्छ र त्यसमा उसको हरप्रयास त्यो समाजको खास आफ्नै वातावरणलाई सँपुष्ट, सुस्पष्ट र दुरुस्त गरी प्रस्तुत गर्नमा लागिरहेको हुन्छ ।

यस हिसाबले विचार गर्दा उनका कथाहरू स्वाभाविक जीवनमा अर्थात् स्थानीय वासिन्दाका स्थानीय परिवेश, स्थानीय संस्कार र सँस्कृतिमा विकसित स्वभाविक चरित्रको विशेषता बोकेको समाजको सर्वेक्षण भएको त छँदैछ भने, हालै जस्तो अस्तित्वमा आएको अस्वाभाविक जीवनको (‘मोड’जस्तो) बाहिरबाट हेर्दा स्वाभाविक जस्तो (स्वाभाविक चरित्रको विशेषता बोकेको) देखिए पनि यथार्थमा त्यो आवरणमात्र भई भित्रभित्रैबाट ठीक उल्टो व्यवहार गर्ने जमातको पनि सर्वेक्षण भएको र साथै आयातीत जीवनको अर्थात् (‘म जुजुमान’ मा भेला भएका मानिसहरूको कार्य व्यवहारबाट स्पष्ट हुन्छ) सर्व भावेन स्थानीय नभई बाहिरको सभ्यताको सिको गरी अस्तित्वमा ल्याएको जीवन चर्याको पनि सर्भेक्षण भएका छन् । आलङ्कारिक भाषामा भन्ने हो भने, यिनले उपत्यकाका आँखीझ्याल, खिड्कीझ्याल सिसा र झ्यालभित्रका जीवन देखेका छन्, र त्यसमा पहिलिएका र पहिल्याएका विषयमा लेख्न भ्याएका छन्, र तिनमा साधारण मानिसका, ठूला-बडा भनाउँदाका र सभ्य कहलाउँदाका कथा-व्यथाहरू समेटिएका छन् ।

सङ्क्षेपमा उनको कुरा गर्दा, यी नै केही यस्ता कुरा हुन्, जुन आकलझुकल मानसपटलमा आउने गर्छन् ।

(स्रोत : मधुपर्क २०६७ फागुन गोविन्द गोठाले विशेष)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.