लेख : निबन्धको वर्गीकरण, प्रकार र भेदहरू

~मोहनराज शर्मा~mohanraj-sharma

निबन्धको वर्गीकरण ‘साहित्यिक’ र ‘साहित्येतर’ गरी दुई वर्गमा गरिन्छ । साहित्यिक निबन्धको मुख्य पहिचान ‘निजात्मक, अनुभूतिपरक, कल्पनाप्रधान र विशिष्ट भाषिक प्रयोगयुक्त’ हुनु हो भने साहित्येतर निबन्धको प्रमुख पहिचान ‘वस्तुगत, ज्ञानमूलक, न्यून काल्पनिक र मानक/सामान्य भाषिक प्रयोगयुक्त’ हुनु हो । यी दुवै वर्गका निबन्धहरू रचनाका दृष्टिले निम्नलिखित चार प्रकारका हुन्छन् :

१) विवरणात्मक निबन्ध—विवृत्तिका रूपमा लेखिएको निबन्धलाई विवरणात्मक निबन्ध भनिन्छ । कुनै विषयको ज्ञानवर्धक प्रतिपादनलाई विवृत्ति भनिन्छ र यसमा विवरणात्मकताको प्रधानता हुन्छ । यसमा विषयको प्रतिपादन सूचनात्मक, परिचयात्मक, व्याख्यात्मक, स्पष्टीकरणात्मक वा ज्ञानवर्धक ढङ्गमा गरिन्छ ।

विवरणात्मक प्रकारको निबन्ध परिभाषा वा प्रक्रियासंग सम्बद्ध हुन्छ अथवा यसमा सामान्य सत्यलाई बुझाउने प्रयास गरिएको हुन्छ । त्यसैले यसको विषय व्यक्ति, वस्तु, कृति, सिद्धान्त, विचार, विधि, आस्था, नियम, रुचि, समस्या, स्थान, प्रथा, रीति आदि हुन्छ र यसले सम्बद्ध विषयबारे विस्तृत जानकारी सरल र स्पष्ट ढङ्गमा दिन्छ ।

यसको मुख्य प्रयोजन बुझाउनु हो । यसले नयाँ ज्ञान दिएर नजानेको विषयलाई बुझाउने अथवा कम ज्ञान भएको विषयलाई झनै राम्ररी बुझाउने प्रयोजन पूरा गर्छ । यसले सम्बद्ध विषयमा विस्तृत जानकारी दिन्छ । यस खालको निबन्धका लागि उपयुक्त हुने केही विषय र शीर्षक तल दिइएका छन् :

क) नब्बे सालको भुइँचालो
ख) पर्यटनस्थल पोखरा
ग) लोकप्रिय पुस्तक मुनामदन
घ) राष्ट्रिय विभूतिहरू
ङ) राम्रो निबन्ध लेख्ने काइदा ।

२) तार्किक निबन्ध—वितर्क अर्थात् विशिष्ट तर्कका रूपमा लेखिएको निबन्धलाई तार्किक निबन्ध भनिन्छ । कुनै विषयबारे आफ्नो मतको स्थापना र त्यसको पुष्टिलाई वितर्क मानिन्छ । वितर्कको विशेष भूमिका हुने हुँदा यसमा तार्किकताको प्रधानता रहन्छ ।

यस खालको निबन्धमा आफ्नो चाहिं मत ठीक हो भनेर अरूहरू अर्थात् पाठकहरूलाई सहमत, आश्वस्त र कायल तुल्याई पक्षमा ल्याउने प्रयास गरिएको हुन्छ । आप्नो कुरा ठीक र अरूका कुरा बेठीक हुन् भनेर पुष्टि गर्ने खालको यो रचना अरूका मतलाई प्रभावित गर्ने किसिमको हुनु पर्छ ।

तार्किक निबन्धको उपयोग सामान्यत: सम्पादकीय, टिप्पणी, परिसंवाद, परीक्षाप्रश्नको उत्तर आदिका रूपमा अत्यधिक भएको पाइन्छ । राजनैतिक प्रश्न, धार्मिक मान्यता, नैतिक दृष्टिकोण, सामाजिक समस्या, ऐनकानुन, नीतिनियम, पुस्तक, चलचित्र, उपलब्धि, योगदान, विफलता आदि यस प्रकारका रचनाका प्रमुख विषय हुन् । यो पनि ज्ञानवर्धक हुन्छ, तर यसको प्रमुख प्रयोजन चाहिं अरूलाई समेत सहमत तुल्याउनु र आफ्ना पक्षमा कार्य गर्न उद्यत पार्नु हो । यस खालको निबन्धका लागि उपयुक्त हुने केही विषय र शीर्षक तल दिइएका छन् :

क) उपचारभन्दा सतर्कता बेस
ख) सानो परिवार सुखी परिवार
ग) लागू पदार्थ खतराको घन्टी
घ) तरवारभन्दा कलम बलियो
ङ) के यस कारखानामा बालश्रमलाई अपराध मानिन्छ ?

३) वर्णनात्मक निबन्ध—वर्णनका रूपमा लेखिएको निबन्धलाई वर्णनात्मक निबन्ध भनिन्छ । कुनै विषयको इन्द्रियग्राह्य ( देखिने वा बुझिने ) अभिव्यक्ति नै वर्णन हो । वर्णन भएकाले यस खालको निबन्ध चित्रात्मक हुन्छ र वर्णन गरिएको विषय पढ्दाखेरि आँखाअघाडि झलझली देखिन्छ ।

यसमा कुनै दृश्य, ध्वनि, बनोट , गन्ध, स्वाद आदिले मनमा जेजस्तो छाप अङ्कित गरेर जेजस्तो प्रभाव पारेको हुन्छ त्यसैको लेखन गरिन्छ । पाठकका मनमा पनि विषयको त्यस्तै इन्द्रियग्राह्य रूप जगाउने प्रयास गरिन्छ । पाठक स्वयंले अनुभव गरेको परिचित विषय ( जस्तै—सूर्यास्त ) होस् अथवा स्वयं अनुभव नगरेको अपरिचित विषय ( जस्तै—हिमालको सर्वोच्च टाकुरामा रात ) होस्, वर्णनको प्रयोजन त्यसलाई मूर्तिमान् गरी चाक्षुष रूपमा झल्काउनु हो । यस खालको निबन्धका लागि उपयुक्त हुने केही विषय र शीर्षक तल दिइएका छन् :

क) मैले देखेको त्यो गाउँ
ख) रूपातालमा एउटा साँझ
ग) एउटा युवाको कोठा
घ) गुलाफको मगमग
ङ) माग्यो त्यसले हात उचाली ।

४) आख्यानात्मक निबन्ध—आख्यान ( घटनावली ) का रूपमा लेखिएको निबन्धलाई आख्यानात्मक निबन्ध भनिन्छ । यसमा वास्तविक वा काल्पनिक घटनाको वर्णन दिक्कालमा अर्थात् स्थानसमेत बताई कालक्रमिक ढङ्गमा गरिन्छ । यसमा घटना अर्थात् के भयो भन्ने कुराको बढी महत्त्व हुन्छ र घटनाहरूकै वर्णनद्वारा विषयको विस्तार गरिन्छ । यसलाई विषयको प्रस्तुति कथात्मक ढाँचामा हुने निबन्ध मानिन्छ ।

यो छोटो वा लामो, यथार्थवादी वा अतियथार्थवादी, सरल वा जटिल, वस्तुगत वा आत्मगत, काव्यात्मक वा अकाव्यात्मक, क्षणव्यापी वा अनन्तव्यापी, एकदेशीय वा सार्वभौमिक आदि विभिन्न प्रकारको हुन्छ । यो ज्ञानवर्धक पनि हुनसक्छ, तर यसको प्रयोजन चाहिं सार्थक र चाखिलो ढङ्गमा घटना प्रस्तुत गर्नु हो । यस खालको निबन्धमा आख्यान एउटा अंश मात्र हुनसक्छ अथवा सर्वांश नै पनि हुनसक्छ । यस खालको निबन्धका लागि उपयुक्त हुने केही विषय र शीर्षक तल दिइएका छन् :

क) विद्यालयमा बिताएको पहिलो दिन
ख) राजमार्गको त्यो बसदुर्घटना
ग) बाटामा खसेको एउटी केटीको फोटो
घ) पानी परेको त्यो रात
ङ) कोठामा क्रुद्ध आमाको प्रवेश ।

निबन्धका विभिन्न ‘भेद’ छन् । यसका मुख्यमुख्य भेदको सूची तल दिइएको छ :

क) निजात्मक निबन्ध
ख) नियात्रा
ग) संस्मरण
घ) रेखाचित्र/शब्दचित्र
ङ) आत्मकथा
च) जीवनी
छ) पत्र
ज) दैनिकी आदि ।

अधिकांश साहित्येतर निबन्ध ‘विवरणात्मक र तार्किक’ हुन्छन् भने अधिकांश साहित्यिक निबन्ध ‘वर्णनात्मक र आख्यानात्मक’ हुन्छन् ।

एउटै विषय अँगालेर पनि चारै प्रकारका निबन्ध लेख्नसकिन्छ, जस्तै—

• ‘बसदुर्घटना’ विषयलाई अँगालेर यो के हो, किन हुन्छ आदि कुरा बुझाउने उद्देश्य राखिएको छ भने निबन्ध ‘विवृत्ति’का ढङ्गमा रचिन्छ र त्यो ‘विवरणात्मक निबन्ध’ हुन्छ ।
• ‘बसदुर्घटना’ विषयमै यो मुख्यत: असावधानीका कारण हुन्छ भन्ने मत व्यक्त गरी अरूलाई पनि सहमत तुल्याउने लक्ष्य छ भने निबन्ध ‘वितर्क’का रूपमा लेखिन्छ र त्यो ‘तार्किक निबन्ध’ हुन्छ ।
• ‘बसदुर्घटना’को बयान मनका आँखाले झलझली देख्ने चाक्षुष प्रभावका साथ लेख्नु छ भने निबन्ध ‘वर्णन’का रूपमा सिर्जिन्छ र त्यो ‘वर्णनात्मक निबन्ध’ हुन्छ ।
• ‘बसदुर्घटना’लाई मार्मिक र रोचक घटनाका रूपमा प्रस्तुत गर्ने मनसाय राख्दा निबन्ध ‘आख्यान’का रूपमा संरचित हुन्छ र त्यसलाई ‘आख्यानात्मक निबन्ध’ भनिन्छ ।
यी चारमध्ये कुनै दुई वा सबैको मिश्रण गरेर पनि निबन्ध लेखिन्छ ।

०००

(स्रोत : फेसबुकको ‘कलमको आँखा : सिर्जना परामर्श’ समूहबाट )

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.