~शान्तिनारायण श्रेष्ठ~
खोजेकै छु हितको माया कहाँ भेटिएला ?
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ?
कुवा पानी धमिलो छ सङ्ग्लो पानी कलको
कलको पानी खाँदा पनि उन्कै लाग्छ झल्को
झल्को लाग्ने बानीबाट कहिले चेटिएला
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ?
घाँस दाउरा काट्न जान्थ्यौँ हामी वन पाखा
पाखाभरि गुञ्जिइन्थ्यो उन्कै गीतको भाखा
त्यही भाखा कहाँ पुग्यो होला यति बेला
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ?
गुप्तेश्वर गुफाभित्र जोगी बस्यो ध्यान
त्यस्तै ध्यानमा हामी बसे आउँथ्यो कि ज्ञान
ज्ञान आए स्वर्ग जाने बाटो भेटिएला
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला
-कुश्मा, पर्वत
(स्रोत : युवामञ्च २०६५ माघ)