~महेन्द्र प्रसाद पोखरेल~
कानै फाट्ने गरी उसले मलाई चिच्याई, ‘के सुनेर बसेको ?, जाने होइन ?’ म झसँग भएँ । हो ल हिँड भन्दै म लागेँ आफ्नो बाटो । साथमा भुन्टी थिई ।
मेरो हर पाइलामा सँगै पाइला बढाएकी भुन्टी मेरी जीवन संगिनी ।
गाँउको हिलो मैलो जीवन मेरी भुन्टीलाई मन परेन रे । अनि काठमाडौँ जान हिँडेका हामी ।
दु:ख चिउलो गरेर हामी बस्न थालियो ।
समयको परिवर्तनसँगै मेरी भुन्टी पनि सुधारिएको चुलोजस्तो भएकी थिई ।
आई मिन जाम्फर लगाउन जान्दैन थिई आजकल जिन्स नै तन्काउने भएकी थिई ।
म पनि इस्टकोट नछाड्ने मान्छे सर्ट पाइन्ट नै उनेर हिड्थेँ । समय नै यथार्थ हो अनि समयको पछि सपनाका गाँठा पारेर म हिड्दै गएँ ।
आफ्ना आवश्यकता बढ्दै गएका थिए एकातिर भने अर्कोतिर काम गरेर खान नपुग्ने स्थिति हुन थालेको थियो । मैले भुन्टीलाई पनि काम खोजिदिने विचार गरेँ ।
एउटा डिपार्टमेन्ट स्टोरमा उसलाई काम मिल्यो ।
अब केही हल्का भएको थियो दुवैजना कमाउने भएकाले ।
स्टोरमा काम भएको हुँदा उ अलि ढिला नै आउने गर्थी ।
त्यसमा मलाई विमत्ति पनि थिएन । म खाना पकाएर राख्थेँ उ मीठो मानेर खान्थी बस, चलेको थियो जिन्दगी ।
हामी अब केही योजनाका साथ बचत गर्न पनि लागेका थियौँ । एक पक्का घरबारे बनेका थियौँ अब हामी ।
मेरो अफिसको काम भएकाले सधैँ म नै छिटो आउथेँ उ थाकेर राति १० बजेतिर आउने हुँदा म उसलाई त्यति घरको काम लगाउदैन थिएँ ।
उ पनि मन लगाउँदैन थिई । केही महिनापछिको कुरा हो उसलाई कोठासम्म छाड्न एक अधवैशे मान्छे आयो । बाइकको पछिल्तिर मैले भुन्टीलाई देखेँ । मैले झ्यालबाट देखेको कुरा उसलाई थाह नभएर हो या उचित सोचिन उसले, मसँग केही कुरा गरिन पनि । मैले पनि सोधिनँ को हो भनेर ।
उसको कोठा फर्कने टाइम केही चेन्ज भयो यसबीच । म चुपचापै थिएँ किन कि लाटीजस्ती उ अनि उसका ती बच्चाको जस्तो चेपारे बोली म किन शंका गर्थे र ? एक दिन म साथीहरूसँग न्युरोडको मिठाई पसलमा मिठाई खाने कुरा मिलाएर गएको थिएँ । हामी एक कुनामा चारजनासँगै थियौँ । त्यसमा एकजना फिमेल स्टाफ पनि थिइन् । केही बेरमा हाम्रो स्विट आयो हामी खानमा व्यस्त भयौँ । फेरि म परेँ अलि गुलियो मन पराउने । मैले मुखमा चम्चा के मात्रै लगाएको बीचमा मेरोसँगैको साथीले मलाई धक्का दिएर भन्यो ओई हेर हेर तेरो… म त्यो स्विट मुखमा लगाइसकेर हेरेको त मेरी उनी पो रहिछन् त्यही पहिलाकै अधवैशेसँग भित्र पसिन् र सीधा माथिल्लो तलामा गइन् । मामा हो भनेर टालेँ मैले ।
स्विट त अब बेस्वादको भइसकेको थियो मेरा लागि । तै पनि मैले खाएँ । मनमा हजार कुरा खेल्दै थिए । अफिसका महत्त्वपूर्ण काम सकेर म फर्किंएँ कोठातिर । मभन्दा पहिला नै भुन्टी आइसकेकी रहिछ । उसैले पहिला भनि म रमेश सरसँग स्विट पसल गएकी थिएँ तपाईं र अरू साथीहरू पनि भएकाले मैले बोलाइनँ । उसको सफाइले मन केही हल्का त भयो तर शंकाको दियो मेरो मनभित्र भने यथावत् नै थियो । सधैँझैँ हामी आ–आफ्नो काममा गयौँ । तर मेरो मनमा लागेको आगोले भने विकराल रूप लिँदै थियो । साह्रै सोझी भनेर मेरा बाबा–ममीले उसको नाम भुन्टी राखेका थिए, तर उसको असली नाम सरला थियो ।
म एकपटक त्यो डिपार्टमेन्ट स्टोरमा जाने निर्णय गरेँ । मेरो साथी रमेशलाई साथ लिई म त्यहाँ पुगेँ । मेरी भुन्टी ड्युटीमा रहेनछे । ऊसँगै काम गर्ने अर्कीलाई सोधेँ उसको खरो जवाफ मेरो कानमा नै नअट्ने गरी चटारियो, उसले भनी के थाह हामीलाई साहुजीको प्यारो मान्छे के काम गर्नुपर्यो र ? हामीजस्तो भए पो उसको ठस्के जवाफले म विशब्द भएँ । साथीलाई जाउँ भन्दै म हिँडे ।
बेलुका सबै खबर लिन्छु भन्ने ठानेँ मैले ।
त्यो दिनको बेलुका कहिल्यै भएन उ त आधा रातमा आई । बाहिर मोटरसाइकलको आवाजसँगै उसको आगमनको मैले सुइँको पाएँ ।
मैले उसलाई रात अबेरसम्म सम्झाएँ । हेर यस्तो गर्नुहुन्न ती धनी मानिसहरू निर्दयी हुन्छन् हाम्रो बसेको घर उजाड पारिदिन्छन् । भुन्टी तिमी के यही चाहन्छौँ ? मेरो गन–गनसँगै उसले फेरि मलाई सफाइ दिन थाली आज सरले बाहिर खाना खाने भन्नुभयो मैले नाइँ भन्न सकिन बाँकी केही त्यस्तो होइन, सर धेरै राम्रो मान्छे हुनुहुन्छ, म आफ्नैअगाडि कोही पराइको तारिफमा कान ठड्याउँदै थिएँ ।
त्यो रात बित्यो । मैले अफिसबाट लोन निकालेर बाइक किनेँ । बिहान उसलाई छाड्न जान्थेँ अनि बेलुका लिन ।
यसरी मैले उसलाई सुध्राने जुक्ति लगाएँ ।
समय बित्दै गए म उसको चियो चर्चा गर्दै गर्थे ।
एक दिन म अफिसको कामले एक फाइभस्टार होटेलमा जानुपर्यो मसँग मेरो पूरै टिम थियो । हामी आउने त्यहाँ पहिला नै जानकारी भइसकेको हुँदा हाम्रो रामै्र स्वागत भयो । हामीलाई लबिमा बस्न लगाइयो । मैले होटेलको सबै कागजात बोकेको थिएँ । म सबैतिर नजर घुमाइ होटेल नियाल्न लागेँ । त्यसैबीच मैले एकछेउको टेबलमा मेरी सरलालाई पनि त्यही अधवैशेको साथ देखेँ ।
मैले रिस थाम्नै सकिन गएर एक चड्कन लगाइदिएँ त्यो अधवैशेलाई । मैले गरेको व्यवहार अलि अपच्य भएछ अनि त्यहाँ ठूलै विवाद भयो मलाई मेरा साथीहरूले तानेर बाहिर निकाले ।
स्टार होटेलमा व्यवसायीमाथि हातपात भनेर लामो खबर छापियो । ममाथि हातपात र गालीगलौजसम्बन्धी मुद्दा चल्यो । मैले माफी मागेर मुद्दा छिनो–फानो गरेँ, तर मेरो त जिन्दगी लुटिएको थियो । मेरी भुन्टीलाई त्यसले ललाइफकाई फँसाएको थियो । मेरै घर बर्बाद हुने मैले नै माफी माग्नुपर्ने ? म सीधै कोठामा आएँ र आफ्नी धर्मपत्नीलाई बिदा गरिदिएँ ।
म अब सहन सक्दिनँ तिमी जाऊ उसैसँग बस, तिमीहरूलाई अब कुनै स्टार होटेल गइरहनुपर्दैन भन्दै उसलाई कोठाबाट निकाली दिएँ ।
उ पनि लुरु–लुरु कपडा बाँधेर निस्किई ।
मैले त्यो सहर र त्यो देश छाडिदिएँ ।
करिब दुई वर्षपछि सरलासँग मेरो भेट भयो ।
म बिदामा गएको थिएँ । उ पहिलाभन्दा दुब्ली र काली भएकी रहिछ । उसले पहिला त बोल्नै मानिन, तर मेरो करैले उ बोली जसका कारण मैले हाम्रो जन्म–जन्मको नाता तोडेर गएँ उसले मलाई एक वर्षभन्दा राखेन त्यतिवेला तपाईं पनि विदेश गइसक्नुभएको रहेछ, घरबेटीबाट थाह पाएँ ।
अनि मेरो जाने ठाउँ कहीँ थिएन माइतीमा त भित्र पस्नै दिएनन् त्यस्तो भगवान्जस्तो लोग्नेलाई धोका दिइस् भनेर अनि म हार खाई मर्न पनि सकिनँ सायद तपाईंलाई भेटेर माफी माग्ने मेरो चाहना भगवान्ले पूरा हुनु रहेछ । रुँदै फलाक्दै, उसले के–के बोली आधा मात्रै मैले बुझेँ । उसको मुखबाट रक्सीको गन्ध आइरहेको थियो । मैले ज्यादा सोध्ने चाहना हुँदै पनि सोधिनँ । उसको कामको बारेमा बुझ्न खोज्दै थिएँ पछाडिबाट आवाज आयो माया ग्राहकले बोलाएको छ जाऊ रे…म झसंग भएँ ।
आज मेरी भुन्टी सरलाबाट माया बनेकी छ । यहाँ कुनै होटलमा माया बेच्छे छि.. छि.. । म बर्बाद भएँ भनेको त उ अझैँ बर्बाद भइछ । त्यो आवाज आज मेरो जिन्दगीको भूत बनेको छ । ‘हम तो डुबेगेँ डुबेगेँ साथ तुमको भी, ले कर डुबेगेँ’ भनेजस्तो भएको छ मलाई । कुनै वेला झल्यास्स हुन्छु त्यही आवाज आउँछ माया ग्राहकले बोलाउँदै छ । मैले त जिन्दगी सुधारे आज मसँग घर परिवार बच्चा सबै छ । तर, मेरी भुन्टी कहाँ होली के गर्दै होली ।
कहिले काहीँ त निद्रामा पनि कराउँछु रे सरला..सरला भन्दै ।
आखिर यदि सरला मसँग नै भएको भए म के हुन्थेँ खै कुन्नि उसैको धोकाको प्रतिफल म आज संघर्ष गरेरै भए पनि एक छुट्टै जिन्दगी जिएको छु ।
तै पनि बिर्सनै नसक्ने पीडा दिएर गयौँ दु:ख यसैको छ ।
(स्रोत : नेपालवाणी नेटवर्क)