~नरेश शाक्य~
म सपनाको रङ च्यातिदिन्छु
रक्तरञ्जित हुदै सपना
भुइमा पछारिन्छ
अथाह बेदनाले कराउदै
म विजयीभावले मुस्कुराउछु
परपीडकजस्तै ।
युगबाहकहरूले आदिमकालदेखि नै
सपनाको रङ कोर्दै आएका छन्
एउटा सुन्दर र सुखद भविष्यको परिकल्पना
र हामी बाध्य छौ
यो युटोपियामा जीउन
जीवनको आहुति
शहादतको नाममा प्राण सिर्जित गर्न ।
ओ, मुक्तिका बाहकहरू हो ।
ओ, सपनाका सौदागरहरू हो ।।
भो ! अब हामीलाई अर भ्रम नपढाओ
सुन्दर क्षितिज नदेखाओ
तिम्रा सिद्धान्तहरू
धर्मग्रन्थहरू
सब बकवास मात्र हुन्
घोषित गर्ने पक्षमा छु
महामना तिमीहरू
तिमीहरूका आदर्श वाक्यका
शासनको बोझ खप्न
शासित हुन
अब हामी अस्वीकार गर्छौं ।
अब लेख्दिन म रङ्गहरूको सपना
त्यसको क्रूर हत्या गरिदिन्छु
बिनारङ्ग
बिनाकुची
मेरो क्यानभासलाई
नग्न नै राम्रो देख्छु
विसर्जित गरिदिन्छु म सपनालाई
अर्थहीन सपनालाई ।
महालक्ष्मीस्थान, ललितपुर
(स्रोत : मधुपर्क २०६७ मार्ग)