~अरुणबहादुर खत्री “नदी”~
कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने,”सीतारामजी, तपाईलाई म आज बियर खुवाउँछु । तपाईले बियर खान सक्ने जति खुवाउँछु है ।”
सीतारामले उत्तर दिए,”सर मैले बियर खान छाडेको दस वर्ष बित्यो । म बियरको सट्टामा कोकोकोला वा कुनै अरु पेयपदार्थ खान्छु ।”
कृष्णप्रसादले भने,”त्यसो भए म तपाईलाई कोकोकोला नै खुवाउँछु ।”
तर सीतारामलाई उनले कोकोकोला खुवाएनन् ।
सीतारामले अफिसमा अन्य साथीहरूलाई सुनायो,”मलाई कृष्णप्रसाद सरले बढुवा भएको उपलक्ष्यमा बियर खुवाउँछु भन्नुभएको थियो । मैले कोकोकोला नै खुवाउनु भए पनि हुन्छ भने । तर उहाँले खुवाउँन मान्नु भएन ।”
“तपाईले बियर खानु हुँदैन भन्ने थाहा पाएर कृष्णप्रसाद सरले तपाईलाई बियर खुवाउँछु भन्नुभएको होला नि ! त्यति पनि बुझ्नु भएन ?” भनेर अर्का साथी हरिप्रसादले भने ।
आफ्नो सोझोपनालाई सरले ठट्टाको विषय बनाएको थाहा पाएर सीतारामलाई साह्रै नमज्जा लाग्यो । सीतारामको आँखाबाट मलाई सरले उडाउनु भएको पो रहेछ भनेर आँसु बग्यो ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)