कथा : मेरो प्रेमको दुश्मन पीआर र ग्रिनकार्ड

~शाश्वत अज्ञात~

उ भन्थी ‘यसै गरी सधै प्रेम गरी राख ल मलाई’ हुन पनि उसितको यो नाता जोडेपछि म आफै फुरुग्ङ थिएँ। प्रेममा पर्नुको मज्जा र कल्पनाको दुनियाँमा शैर गर्नुको रोमाञ्चकता ! आहा !

फेरि बोली, ‘कसम खाउ, तिमीले मलाई कहिले छोड्ने छैनौ’

‘तिम्रो कसम बाबा, तिमी मेरी प्यारी हौ । जुनी जुनी मेरी।’

कतै कुनै सिनेमामा सुनेको डाइलग तुरुन्तै याद आयो तुः फरर भनिदिएँ। मख्ख परी, गजक्क परी।

मलाई पनि के थियो र पहिलो प्रेम सोच्दै यस्तो आन्नद आउछ अझ वास्तविकतासँग अंगालो मारिरहेको थिएँ । एकदम टाइट । कुनै सुन्दर यौवना स्त्रीसँग अङ्गालो मारेजस्तो रोमाञ्चकता, मादकता र कहिल्यै छोड्न नचाहने साथ। कति खुसी, कति भाग्यमानी थिएँ म, हामीश् ! अहो यो हाम्रो जोडी !

प्रेम जातैले यस्तो! जति खायो उति खान मन लाग्ने ।म कहिले थाकिँन, अघाइँन उसको त्यो साथ, उसको चाल र रुप हेरेर। मायालु पोक्ची।

ठ्याक्कै आज ८ बर्ष ७ महिना भएछ त्यो पोक्चीसँग प्रेम परेको। त्यो पहिलो देखादेख, ११ कक्षाको पहिलो दिन, जब देखें लाग्यो, यसलाई पट्याउन पाए त । गोरो अनुहार, ठूला ठूला आँखा, होची होची कदकी । वस् मैले खोजेजस्तै, मैले प्रत्येकचोटि स्वप्नील भएर कल्पना गरेजस्ती थिई उ।

दिनहरु रमाइला उसँगको साथमा । रातहरु कहालीलाग्दा, डरलाग्दा कारण उबाट बिछोडिएर बस्नु पर्दाको क्षण । बिहानीको ब्यग्र प्रतिक्षा।

………..

पढाइ ११ सकियो ,१२ सकियो। हाम्रो गन्तब्य पनि फरक–फरक बाटोतिर मोडियो । केवल साँचो प्रेमलाई साक्षी राखेर।अनि कसम उही कहिल्यै नछुट्ने बाचा।

उ भन्थी, अझै आद छ मलाई ‘२-४ बर्ष त हो नि, छि ! छोरो मान्छे तिमी त, कस्तो हिम्मतवाला पो हुन पर्छ । हामी टाढिन लागेको त होइन नि ? भविश्य हाम्रै लागि राम्रो हुन्छ भनेर त हो नि। भविश्य बनाउँ अनि बिहे गरौला।‘

अनि फेरी थपी ‘दुई छोराछोरी, एउटा सानो घर, अनि तिमी र म ! आहा ! सोच त ! ‘म एकटक भएर उभिरहेको थिएँ। ठिकै त भनी ।आखिर साचो मायाँ र प्रेमको विजय सदा हुन्छ भन्छन् । मैले उसको कुरामा सहमति जनाएर टाउको हल्लाएँ । तर मन भारी भएको थियो । मोरी कति जब्बर भाकी ! म पो भावुक भएँछु।

ऊ भारततिर लागि नर्सिङ पढ्न । म एमबीबीएस गर्न बङ्गलादेशतर्फ लागें डाक्टर बन्ने अभिलाषा बोकेर ।तर मन भारी थियो ।रुन मन थियो। तर केटा मान्छे, म रुन हुन्न रे । त्यसैले बाथरुममा गएर मुख धोएँ। युवा जोस, त्यसमाथि साँचो प्रेमले डामेको उमङ्ग र प्रीयसीको साथको कुरा। संसार जित्न एक्लै काफीजस्तो लाग्थ्यो । मीठो भविश्यको लोभ। आखिर कति मीठो हुन्छ सपना, नबिउँझदासम्म।

……..

विस्तारै समयको चक्र र विपरीत देशको यात्रासँगै उसंग हुने गरेका प्रेमालापहरु कम हुँदै गए।आकल झुकल अनलाइनमा देखा पर्थी । छोटो तर मीठो कुरा गर्थी अनि म बिजी छु पछि कुरा गर्छु ल भन्थी।

‘मेरो उपचार गर्ने तिमी नै हो नि । राम्रोसँग पढ ल, म तिमीलार्इ माया गर्छु, तिम्रो कसम, पढ, डाक्टर बन, भबिश्य बनाउ। ‘उसका पछिल्ला शब्दले मनमै रोप्थ्यो। आइ अभ यु को झटारो हान्थी अनि फेरि मन त्यसै खुसी हुन्थ्यो।

म उसको एकोहोरो प्रेममा डुबेको थिएँ । उ मसँग टाढिँदै गएको पत्तै पाइँन। हप्ताबाट महिना हुँदै निकै दिन भए उसँग कुरा नभएका । भाइबर अनि फेसबुकमा अफलाइन मेसेज छोड्थें ‘सिन’ देखाउँथ्यो, तर रिप्लाई कहिले गरिन। कहिलेकाहिँ ‘आइ मिस यु, सो मच डियर, लब यु’ भनेर लेख्थी । त्यसले0 मलार्इ बर्ष दिनलाई पुग्थ्यो। अजिब हुदो रै’छ प्रेम पनि ।

………

ठ्याक्कै ३ बर्ष ९ महिना भएछ उसले अन्तिम मायाको मेसेज पठाएको।म पढाइ सकेर नेपाल फर्किएँ। डाक्टरको लाइसेन्स दिने परीक्षामा पटक–पटक फेल भएपछि रन्थनिएको थिएँ। बल्ल बल्ल सानोतिनो क्लिनिकमा जागिर थालें । आर्थिक गर्जो टड्कारो बनिरह्यो जीन्दगीमा।

त्यतिकैमा थाहा पाएँ उसका लागि अमेरिकाबाट चिल आएछ ग्रिनकार्ड बोकेर। एक हावाको झोकासँगै मेरो सपना उडायो। उसले मसँग भविश्य सुरक्षित देखिन, चोखो माया ग्रिनकार्डसित साटियो, पिआरसंगै सति गयो बैगुनीको माया। तर, त्यो मोरीको माया एकोहोरो याद आज पनि आउँछ । आज पनि जब एकान्तमा एक्लै हुँदा उसको याद टिप्लिक्क आइदिन्छ। ए याद, काहीँ टाढा जा मदिख। मन आज पनि प्रश्न गर्छ ‘ग्रिनकार्ड वा पिआर ठूलो कि माया ?’ अनुत्तरित !

……….

पृथ्वी गोलो छ भनेको साँचो रै‘छ। आज न्युयोर्कको ब्रुकिलन ब्रिज पार्कमा एकहोरो समुन्द्रलाई एकतमासले हेरेर बसेकी उसलार्इ देखेर झस्किएँ । पुराना यादहरुले रन्थनायो फेरि। उमेर भन्दा बुढो शरीर । तनावग्रस्त आँखा । अनि बेचैन मनमा देखिन्थी । मन खिन्न भयो।सुनेथें डिभोर्स दिएर बसेकी छे रे । हो रहेछ । आखिर उसको उदास हाउभाउले प्रमाणित गरिरहेको त छ । मैले देखें उसलाई । तर, उसले देखिन मलाई ।

नजिकै गएर बोलाउँकी ‘ए पोक्ची’ भनेर भन्ने भयो । तर, दिमाख जब्बर छ, मानेन। गोधुलीको सूर्य डुब्न आँटेको थियो । मेरो मनमा फेरि त्यै प्रश्न गुन्जिरहेको थियो ‘ए पोक्ची पिआर,ग्रिनकार्ड ठूलो कि माया? ’उसका जवानीका मार्फाका स्याउजस्ता गालाको याद आयो। यसपालि प्रश्नको उत्तर माग्न मन लागेन।

– शाश्वत (सिड्नी, अष्ट्रेलिया)

(स्रोत : अनलाईनखबर डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.