~प्रकाश प्रधान~
राष्ट्रिय रङ्मञ्चको नयाँ पर्दामा
सहमति समावेशी सहयोगी सामञ्जस्य
आदि इत्यादिको खोजी त्यहाँ हुँदैछ
जहाँ मन मस्तिष्क र मनसायको मेल
असम्भव जस्तै सावित हुँदैछ
अब दलित स्वार्थन्धता र ध्रुवीकरणले
समीकरणको सैद्धान्तिक नारा कहाँ पुग्यो कहाँ
यो असम्भव प्रयासले कसलाई कहाँ पुर्याउने –
यो अन्तहीन नाटकको दर्शक जनताको
धैर्य र आशाको पुर्तिविहीन प्रतीक्षा
अर्को अच्चम्मित आर्श्चर्य भइरहेछ
कत्रो अभियान कत्रो कसरत कस्तो सहिष्णुता
बेलाबखतको अनेक बुँदेसम्झौता सहमति
तर पनि गणितीय र बहुमतीय आचारकै आधार
गुटबन्दीको रूप अनेक
यै ताल यै चाल गन्तव्य पुग्न असम्भव
जतिसुकै कूटनीति, चलखेल, जालझेल, सद्भावको पारदर्शन
नमिल्ने मन मिल्नै असम्भव
धैर्यको बाँध टुट्नैपर्छ बेला छँदै
यो मोहभ्रम, इन्द्रजाल छलकपट भ्रान्ति जे भन्नुस्
यो अति अत्यन्त कठोर दुरदशापूर्ण नियति जनताको
को हेर्ने कसलाई वास्ता
जसका लागि यति ठूलो तमासा जिन्दगीको
आक्कलझुक्कल मिलेजस्तो देखिए पनि
अभिनय हो बाध्यताको
घेरै परसम्म जानै नसक्ने
अब यहाँ सरल ऐक्यबद्ध तरिकाले केही नहुने पक्का
इच्छित आकाङ्क्षा र अहिलेको लक्ष्य सजिलै पुग्ने नभइसक्यो पक्का
यो अलमल हलचल उनाउ जालझेल समेतको बेला
पौराणिक यदुवंश नासको मुसल झार
प्रादुरभाव हुन नदिने हो भने
कि त महाभारतको तयारी
कि त शुद्धि शान्ति स्वस्तिको महायज्ञ
कस्सिएर लाग्ने बेला हो यो
एकै मुस्लो जनताको ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)