~रामचन्द्र कार्की~
गाईबाख्राको पछिपछि, ढाडखोलाको पानी पिउदै,
ऐसेलु र कटुस खान्थ्यौ. च्यातिएको भोटो सिउदै ।
पल्लो घरकी गंगा बैनि, गोठालाकी असल साथी,
छिइन् अचेल कुन संसारमा, आज सपनीमा आथी ।
माथिल्ला घरको कृष्णे पनि, अरव तिर पसेपछि,
तल्लो घर नि शुन्य भयो, हजुर आमा खसेपछि ।
भोर्ले खोलो उर्लि आउदा, सुसाईसगै पौडि खेल्थ्यौं,
काउले पानी चौरमा, कोल हाली उखु पेल्थ्यौं ।
खुर्सानी र नुन पिधी, अमिलो र आरु सगैं,
खित्का छोडि हास्दै हास्दै, गट्टा खेल्थे पारु सगैं ।
ठुल्ढुङ्गेको बरको रुख, कोल हालेको बनमा,
चिन्ता पिर केहि थिएन, हाँसो खुशी मनमा ।
काफल टिप्दा हागो सग,ै ढुङ्गामाथी पछारिदा,
पिडा भन्दा लाज भाथ्यो, बाटुलीले मसार्दिदा ।
जंगल भरि गाईबाख्रा, जिउभरि जुगाको बास,
मोटे काले लुकामारी, हामी खेल्थ्यौ तास ।
कहिले काही त गाईबाख्राले, खेतिबाली सिद्दाउदा,
चिलि कन उठाउथ्यो, कमिलाले निदाउदा ।
गाईबाख्रा हेर्दा होस् कि, दाउरा घाँस खोज्न जादाँ,
बेग्लै स्वादमा रमाउथ्यौ, मकै भट्ट खाजा खादाँ ।
अतितलाई सम्झी आज, मनको घाउ चराईरह्यो,
साथी संगी त्यो दुनियाँ, मेरो लागी पराई भयो ।
बुढा बाबा बुढी आमा, आँगन भाछ परदेश,
जति दुःख पीडा होस्, जन्मभूमी धेरै बेश ।
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)