~लक्ष्मी प्रसाद देवकोटा~
क.
क्या खुल्यो बिहान आज !
नीलिमाले फाली
सकल घुम्टो जाली !
ख.
वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो !
अभिराम क्या यो !
रात प्रातः आयो !
क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो !
दिविमा जन्म ली दयाले !
करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो !
कुँज्छन् हृदय डाली !
दर्शनभिलाषीलाई दिव्य देव प्रकट हुन्छन्
उक्ले अंशुमाली !
ग.
भस्मीभूत दिन–चरी उड्छ भै सुनौला !
मानवी भविष्यको यो गाउँछ गान नौला !
एक अचल–चित्र तरुले औंला एक उचाली
अमृत रश्मि नै इशार्छ, सिद्ध निज समाधिलाई
लोक निम्ति फाली !
रश्मिलाई बुन्न दिन्छु
दिलमा, भावजाली
घ.
प्राततारा ब्रह्मा अल्पे
जसले सृष्टि कल्पे
एक सफा डफ्फा बकुल्ला पौडिए उज्याली !
जीवनीका गतिका सुखका जीव–पङ्ख चाली !
खोजको आरम्भ हुन्छ
चल्छ जगत्, आफ्ना पयर
सडकमा उचाली !
ङ.
द्रुम शिखामा छवि–विहङ्ग प्रथम झरेर बसे !
गुप्त इन्द्रधनुष ध्वनिको गुन्जन गाएर खसे !
मेरो भित्र चिडिया लाग्यो कुर्लन, पङ्ख चाली ।
च.
स्वर्ग झर्छ, पृथिवी उड्छिन्, हिमालचुलीमा भेटी !
चुंबिदा छन्, लाल मदिर–अधर, अँगालो हाली !
अब सँभालिएर बस्छन्, मुस्केर हेर ! साथ,
प्रातःको कहानी हाली ! ऊष्म रङ्ग फाली !
छ.
सृष्टि लाउँछे वसन सुन्दर,
मधुर मातले छाली !
चञ्चले भाउले चाली !
पाँच द्धारबाट घुस्दछ उदय–सङ्गीत–धारा !
पन्छी मान्छ पिंजरा सन्चो,
दोहोर्याउँछ गीत ती सास !
ज.
धुस्नो सुकुलमाथि कवि छ, छिया छ पराल जालो !
एक–सिङ्गी गाई साथ लँगडो कुकुर खालि !
सुख हो भन्छौ जिन्दगी यो,
किरण आँगमा हाली !
झ.
मृत्यु चिसो हुन्छ भन्छन्,
तातो अमृत थाली !
झारपात भज्न लागे गायत्रीको मन्त्र,
किरणतर्फ आफूलाई माटोमा उचाली !
ए वरेण्यं भर्गस् ! सविता !
प्रेर भन्छु आत्मालाई, जहाँ, छौ ज्योतिको थाली !
विनत छु, सिकाऊ देव !
जित्न मृत्यु जाली ।