~उर्मिला थपलिया~
कृत्रिम सपनाहरूलाई
तिलाञ्जलि दिँदै
मृत्युलाई आफ्नै घरमा बसेर कुरिरहेँ
सयौँ पत्रहरू पठाएँ
ऊ आउँदै आएन
म
मृत्युलाई आफ्नो बनाउन चाहन्थँे
म
मृत्युलाई आलिंगन गर्न चाहन्थेँ
उसलाई भेटेर
उसैमा लीन हुन चाहन्थँे
तर
मृत्यु भने
सधैँ म देखेर सुइँकुच्चा ठोक्थ्यो
जब म
आफ्नै दुनियाँमा मस्त हुदै
उसलाई बिर्सिसकेको थिएँ
अचानक ऊ आज
झ्यालबाट मलाई चियाइरहेको छ
मलाई जिस्क्याइरहेको छ
मैले उसलाई कयौ पटक भेट्न खोज्दा
उ अटेरी बनेर
मलाई नदेखेझैँ गरी दौडिरह्यो
बरु सुटुक्क मेरो छिमेकीमा पस्यो
मलाई बेवास्ता गर्दै
तर, अहिले म
उसलाई भुल्दै
टाढाटाढा हँुदै थिएँ
आफ्नै छुट्टै दुनियाँ बनाउदै थिएँ
अचानक
ऊ मेरो नजिक आउँदैछ
हिजोआज मलाई
मृत्युभन्दा जीवन
कैयौँ गुना उज्यालो लागिरहेको छ
अफसोच !
म मृत्युसँग भागेर पनि भाग्न सक्दिनँ
जीवन मागेर पनि पाउन सक्दिनँ ।
(स्रोत : Nepaladelaide.com)