कविता : चौतारो

~अकेला यात्री~akela-yatri

गाउँमा भर्खरै बनिएको छ नयाँ चौतारो
मसँग कसैलाई सोध्ने साहस छैन
कि यो चौतारो कसको भनेर ।

किन किन मलाई यस्तै लागिरहेछ
त्यो मेरै दौँतरीको चौतारो हो
भेला भएर साँझमा
जोसँग हामी समानताको कुरा गथ्र्यौँ
त्यो मेरी प्रेयसीको चिहानजस्तो छ
एकान्तमा भेटिएर हामी
नयाँ बिहानीको कुरा गथ्र्यौँ
अथवा हाम्रा साझा सपनाहरुको मृत्युघोषाणा
तन्नेरी सपनाहरुको लास
त्यो बन्दुकले लेखेको विभत्स इतिहास हो ।

थाहा छैन !
स्वाभीमानले कतिले शिर उचाले उसको मृत्युमा
कतिले खुसीले उल्लास बाँडे उसको मृत्युमा
तर किन राख्यौ उसको चौतारो उसैको घरबारीमा ?
आमाका आँसुले प्रत्येक दिन चोली रुझाउन
कि बाबुको जाँगर प्रत्येक दिन गलाउन ?
टुँडिखेलअगाडि उभिएको जङ्गबहादुरको घोडा ढालेर
उसके सलिक त्यहाँ उभ्याएको भए के हुन्थ्यो ?
चोकैपिच्छे महाराजाका मूर्तिहरु भत्काएर
उसको मूर्ति त्यहाँ बनाएको भए के हुन्थ्यो ?
किन राख्यौ उसको चौतारो उसैको घरबारीमा ?

कुन आमाले स्वाभीमानले बोल्न सकिन होलिन्
उसको सन्तानको मृत्युघोषणामा सहिद भनेर
कुन बाउले छाति फुल्ल्याए होलान्
आफ्नो अगाडि सन्तानको स्मृति उभ्याएर
बोलाउँछन् चाँडपर्वमा आउँदैन उठेर चौतारो
हेर्छन रित्तो छ उसले लेख्ने टेबुल
थन्किएका छन् उसले पढ्ने किताब
एउटा दिनचर्या बाउआमाको–
‘एकपटक गएर छोयो आमाले चौतारोलाई
एकपटक गएर छोयो बाबुले चौतारोलाई ।’
किन राख्यौ उसको चौतारो आमाबाउको आँखामा ?

कति बनायो बन्दुकले यस्तो चौतारो ?
सम्झन्छु कति रित्यायो आमाको काख ?
कति पुछ्यो सिउँदाको सिन्दुर ?
कति टुहु¥यायो कलिला नानीहरुलाई ?
प्रश्नैप्रश्नको यो सगरमाथा
कहाँ पुगेर ढल्ने हो ?
तर मसँग कसैलाई सोध्ने साहस छैन ।

गाउँमा भर्खरै बनिएको छ नयाँ चौतारो
लेखिएको छ यसको परिचयः
क. तुफान स्मृति
जन्म ः २०४३
सहादत ः २०५७
उसको सम्मानार्थ
प्रत्येक दिन बन्दुक बोकेर
परेड खेल्छन् मान्छेहरु ।

अकेला यात्री
मंगलटार–२, खोटाङ
akelayatri37@gmail.com

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.