कविता : उसको हाँसो

~जीवन शर्मा~

मेरो कपाल फूल्न थालेको देखेर
उ हर्षित भएको होला ?
मैले चपाउने धारिला दाँतहरू
फुस्केको देखेर
अझ खुशी भएको होला
अनि मैले टेक्दै हिंड्ने
वैशाखी भाँचिन थालेको देखेर
दुईचार फन्का नाँचेको पनि होला ?

सायद, उसलाई थाहा छैन
उठाउनुपर्ने मेरा कदमहरू उठिसकेका छन्
बुझाउँदा खर्चिनुपर्ने पसिनाहरू
यही माटोमाथि खसिसकेका छन्
दुईचार पोका रगतहरू पनि बगिसकेको छ
म मात्र होइन अब त,
आफू भन्दा ठूलो भारी बोक्ने
मेरो भुन्टे नातिले पनि बुझिसकेको छ
मेरा जेठी नातिनीका हातहरू
पहिलाभन्दा कडा भइसकेका छन्
औलाहरूले बारूद र बन्दुक
खेलाउन सिकिसकेका छन्

मेरी अर्धाड्डीनी पनि आवश्यक परे
आफ्नो सिउँदो समेत बगाउन तत्पर छे
अनि छोरो ढुंगा, मुडा र इट्टासँग
लड्न तालिम प्राप्त भइसकेको छ

तर ऊ मेरो चाउरिएको छाला देखेर
फिस्स मुस्काउन भने छाडेको छैन
मेरो गिदी तातेको उसले के देख्छ ?
मेरो आँखाले हल्ला गरेको के देख्छ ?
मेरो नाकले सबैलाई व्यूँझाएको के देख्छ ?

उसलाई के थाहा ?
उसले आराम गर्ने शिरानीमा
बारूद छ भन्ने कुरा
उसको गिदी भएको कन्चटमा
नालहरू तेर्सिएको कुरा
आँखामा खुर्सानीको धुवाँ
पस्दैछ भन्ने कुरा
सोझा जनतालाई कुट्ने हातहरू
टुक्राटुक्रा पर्दछन भन्ने कुरा
तर पनि ऊ
मेरो भौतिक रूप देखेर हाँसिरहेको छ
उसको हाँसो क्षणिक हो
उ फगत
हाँस्नका निम्ति हाँसेको छ ।

–रुद्रपुर, रुपन्देही (हालः त्रिचन्द्र क्याम्पस, काठमाडौं )

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ९ – Jan. 4, 2012 – २०६८ पौष २० गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.