~अनिल नेम्बाङ~
पहेँलो सभ्यताः
चुहिने आकाश गर्लम्म ओढ्छ
भोकमा माटो खान्छ
तिर्खामा नदि पिउँछ
दिनमा सुर्य ताप्छ
साँझमा झ्याउँकिरी सुन्छ
अँध्यारोमा जूनको पुल्ठो सल्काएर
हेर्छ तारापुञ्जको चलचित्र
अनि घुर्छ आनन्दको निन्द्रा।
छि, कस्तो असभ्य!
न पड्किने बन्दुक छ
न ऐश किन्ने कागज
न आयु नाप्ने घडि छ
न दिशा छुट्याउने कम्पास नै +।
पहेँलो भुगोलमा –
न मायालु गुलाब फूल्छ
न जँगली चित्लाङे झार
न सुन्दर जपा कुसुम फूल्छ
न शुभ बेली फूल
न त अशुभ धतुरो नै +
त्यहाँ केही फूल्दैनन्
मात्र फूलहरु फूल्छन।
हरियो सभ्यताः
वक्षमा मायालु बाँको रोपेर प्रकृति छल्छ
विवेक भोकाउँछ
अवचेतना तिर्खाउँछ
दिनमा घाम खसाल्न गुलेली ताक्छ
साँझमा झ्याउँकिरी धपाउने रमाइलो चट्टी खेल्छ
रातमा रहरलाग्दो जून जिस्क्याउने बिजुली बालेर
हेर्छ ओजोन माथिको पर्दामा चोर पुलिसको नाटक
अनि सुत्न खोज्छ ट्याब्लेटको निन्द्रा।
आहा, कति सभ्य!
दुश्मन धपाउने बन्दुक छ
जीवन साट्ने कागज छ
दिनभर हतार लगाउने घडी छ
पूर्व पश्चिम पठाउने कम्पास पनि +।
हरियो भुगोलमा –
गाँस फलाउने मजदुर छ
राजनीति गर्ने नेता छ
भगवान जस्तो डाक्टर छ
अधिकारको कुरा गर्ने अधिकारकर्मी छ +
सबै सबै छ
मात्र मान्छे र मानवता छैन।
प्रिय भावक!
बोल्दै जाँदा सभ्यताको रँग अदलबदल भएछ
यदि होइन भने, हरियो बनाइएको म
हाँसी हाँसी पहेँलो ओलाइदिन्छु।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)