~खेमराज गाउँले~
म मध्यरातमा व्युँझिएँ । उनको शरीर चिसो भएको थियो । उनकै चिसोले मलाई व्यँुझाएको हो । छामें उनी मस्त निद्रामा भएझैं थिइन् । उसै त पुसमाघको जाडो । हामीसँग ओढ्ने लुगा कम थियो । उनलाई र मलाई पुग्ने गरी लुगा मिलाएँ । उनलाई अँगालोमा होलें । अनि सुतें ।
बिहानै उठें । उनलाई उठाएँ । काममा त जानै प¥यो । अनि खाना बनाउन लगाएँ । मुख धोई भान्सा छेउमा गएँ ।
‘राति मस्तै जाडो भयो कि क्या हो ।’ मैले भनें ।
‘म ता था पाइनँ । तपैलाई भा हो ?’ रमा बोली ।
‘तिमी त निकै चिसो पो थियौ त ? मैले तातो नबनाइदिएको भए मथिर्उ तिमी ।’
‘मेरा बुढा भएपछि किन मर्नु नि ।’ रमाले जवाफ दिई ।
‘हेर रमा, काइला काकाको घर निब्जिन लागो । अब त पैसा पनि दिन्छन् होला । पैसा आयो भने सिरक किनेर चिसो नहुन गरी सुत्नुपर्छ है ?’
यति कुरा गरिसक्दा खाना पाकिसकेको थियो । म खाना खाई कामतिर लागे । काइला काकाको तीन तले घर बनाउँदै थियौं ।
काइला काकाको घर बनाउने काममा कामे, सार्के, गोठे, पेले र म छौं । यताउता काम काइला काका र उनका परिवारले पनि सघाउँछन् । गोठे निकै गफाडी छन् । काम जति गर्छ त्यति नै गफ गरेर सबैलाई काम गरेको पत्तै दिदैनन् । गोठेले दिनमा नयाँ नयाँ गफहरु निकाल्छन् ।
‘हाम्रो गाउँमा त बोक्सिनी नाच्छन् रे बड्डा हो ।’ काम सुरु गर्दै गर्दा गफ सुरु गरे गोठेले ।
म पढ्न लेख्न नसके नि यस्ता काक्सी बोक्सी, सिउरेकाजीमा विश्वास गर्दैनँ । कामले कति दिन च्यानधाराको बाटो मध्यरातमा नडराई एक्लै हिडेको छु । ठूलोगाउँबाट पनि एक्लै घर रातमै कति हिडेको छु कति ।
‘बोक्सिनी नि पनि हुन्छन् र ?’ मैले सोधें ।
‘बोक्सिनी हुन्छन् रे । हाम्रो गाउँमा पनि छन् रे । मध्यरातमा सबै सुतेको बेला पर मुखियाबाको आँगनमा नाच्छन् रे ।’ गोठेको जवाफ ।
‘हेर गोठे, यी सबै अन्धविश्वास हुन् ।’ मैले उसलाई सम्झाउने प्रयास गर्दै भनें, ‘बोक्सा बोक्सिनी भन्ने केही पनि हुन्न, कोही पनि हुन्नन् ।’
‘के थाहा । सके तेरै बूढी रमा भाउजू पो बोक्सिनी छिन् कि ?’
‘के भन्छ यो ? हो भन्ने कसरी थाहा हुन्छ ? मैले यतिबेलासम्म त थाहा पाउँदा हम् टो ।’
‘शरीर ओछयानमै हुन्छ । उनीहरुको आत्मा पो हो बोक्सिनी । उनीहरुको आत्मा गएर नाचेको के थाहा मान्छेलाई । तिमी त भाउजसँगै सुतेकै हुन्छौ । भाउजूको आत्मा नाच्या देख्दा हौ र । हा हा हा’ गोठेले अझ अगाडि भन्दै गयो, ‘बोक्सी हो भन्ने थाहा पाइन्छ रे दाइ । यदि बोक्सी हो भने उनीहरुको शरीर मध्यरातमा चिसो हुन्छ रे । भाउजूलाई राती उठेर छामे टो । बोक्सिनी नाचिरहेको ठाउँमा गएँ त खान्छन् रे नि ।’
‘हा हा हा हा’ काम गर्ने सबै हँँस्यौं ।
मेरो मनमा चिसो पस्यो, ‘मेरी रमा पनि कतै.’ मन सम्हालें । अनि मनमनै भनें ‘यो सब भ्रम हो । मान्छेले बनावटी कुरा गरेका हुन् । बोक्सी, सिउरे, भूत हुँदै हुन्नन् । गरिबीको जाडोले हो हामीलाई चिसो बनाएको ।’ सोच्दै सोच्दै घर पुगेछु । साँँझ परिसकेको थियो । खाना खाई सुत्यौ ।
उनले ओढेको लुगा तानेपछि म ब्युझिएँ । मध्यरातमा हुनुपर्छ । सुनसान थियो चारैतिर । उनी ओछयानभित्र पस्दै थिइन् ।
‘कहाँँबाट आएकी ?’
‘पेट दुखेर । बाहिर गएर आएकी ।’ उनले सहज जवाफ दिइन् । ‘मलाई पनि भन्नु पर्दैन त ?’ ‘एक्कासी पेट दुख्यो । भन्नै सकिनँ ।’ हाम्रोतिर शौचालय जानुलाई ‘बाहिर जाने’ भन्ने चलन छ । उनी चिसो भइसकेकी थिइन् । दिउँसोको कुरा मनमा खेलाएँ, ‘मेरी रमा पनि कतै..’
गोठेले भनेको कुरा सम्झें, ‘उनीहरुको आत्मा पो हो बोक्सिनी । शरीर ओछयान मै हुन्छ ।’
हत्तेरी म पनि कस्तो अन्धविश्वासी । रमा बोक्सी भएको भए त गोठेले भनेजस्तै शरीर त मैसँग पो हुनुपर्ने । मजस्तोले रमालाई नराम्रो सोच्नुहुन्न । रमा निदाइसकेकी थिई । म पनि कुनबेला निदाइसकेछु । ‘भाउजू त राति मेरो घरको आँँगनमा हिडेको देख्या हम् त दाइ ।’ ‘बिरामी छिन् । बाहिर गाकी हुन् ।’ गोठेको घर पर खोल्सा छ । त्यही नै हो सबैले दिसापिसाव गर्ने ठाउँ ।
‘भाउजूमाथि शंका छ है दाइ ।’ यति भन्दै ऊ हाँँस्यो । सबै हाँँस्यौं । त्यसपछि कुरा अघि बढेन । त्यस रात पनि उनी चिसो भइन् । उनी ओछयानमा पसेको वा निक्लेको भने थाहा पाइनँ । ‘कि बोक्सिनी नै हुन्, रमा ?’ मनमा कुरा खेलाएँ । लुगा ओढाएँ । अंगालोमा हालें र सुतें ।
भोलिपल्ट मध्यरातमा ढोका उघारेको चाल पाएँ । अँँखा खोली हेरेको त रमा ढोकाबाट निक्लिन् । सुस्तरी ढोका लगाइन् र चप्पल लगाई हिँडिन् । मनमा चिसो पस्यो । रमा कतै गोठेले भनेजस्तै बोक्सिनी त होइनन् ? म पनि उठें । म ढोकामा निक्लिँदा रमाले गोठेको घर काटेर गइसकेकी थिइन् । गोठेको घर पुग्दा घरपरको खोल्सो काटेर गई । खोल्सो काटेपछि मुखियाको घर आउँछ । मुखियाबाको घर अगाडि ठूलो अँँगन छ । गोठेले भनेअनुसार मुखिया बाको अँँगनमा मध्यरातमा बोक्सिनी नाच्छन् रे ।
रमा बोक्सिनी हो भन्ने प्रमाण्ँित भयो । बोक्सिनी नाचेको देख्नेलाई खान्छन् रे । मलाई डर लाग्यो । म फकिएँ । र्कोठामा आएर सोचिरहें । करिब १ घण्टा पछि रमा आई । म सुतेझैं गरें ।
रमा विस्तारै ओछयानमा आई । सुती । आज मैले उनमा फरक गन्धको महसुस गरें । सुत्दै गर्दा मैले अघिल्ला दिनहरुमाझैं थाहा पाएझैं गरें । मानौ म ब्युझिएँ । मैले उनलाई सुमसुम्याएँ । उनी चिसो थिइन् ।
‘जाडो भा छ ?’
‘अँ भा छ ।’ उनले निदैबाट झैं जवाफ दिइन् । कुरा बनाउन कति जानेकी ।
मैले ओढ्ने मिलाइदिएँ । सदाझैं अंगालो मारें र सुतेझैं गरें । ‘रमा बोक्सिनी ?’ मनमा कुरा खेलिरह्यो । त्यसरात म सुत्नै सकिनँ । उनी भने यसलाई सहज रुपमा लिँदै सुतिन् ।
अर्को रात ।
खाना खाएर सुत्यौं । मलाई निदै लागेन तर म सुतेझैं गरिरहें । सायद म मस्त निदमा छ भन्ने सम्झिइन् होला । अघिल्लो रातझैं मध्यरातमा उनी घरबाट निक्लिइन् । म पनि निक्लिएँ घरबाट । उनी सरासर पहिलेकै बाटो गइन् । म लुक्दै लुक्दै पछि पछि गएँ । आज म मरें मरुला । कस्ता हुने रैछन् बोक्सिनी ? गाउँका को को रैछन् बोक्सिनी ? चिन्ने चाहना मनमा जाग्यो । सधैं झैं रमाले गोठेको घर काटिन्, गोठेको घर परको खोल्सा काटिन् । मुखिया बाको घर आयो । आँगन आयो ।
आँगनमा कोही थिएनन् । रमाले त अँँगन काटेर अघि बढी । मलाई लाग्यो बोक्सिनी नाच्ने ठाउँ अन्यत्रै रहेछन् । पछि पछि लुक्दै गइरहें । मुखिया बाको पाँँचवटा घर पर एउटा घर आयो । रमा त्यही घरको ढोकामा अडिइन् । ढोका टकटक टकटक हानिन् । दुई पटक । ढोका खोलियो । भित्र पसिन् ।
मेरो मनमा रहेको बोक्सिनीले अर्कै रुप लियो । म घर फकिएँ । र्सुतें । अघिल्लो रातको निद र यतिबेलासम्म ननिदाएको म, कुनबेला सुतिसकेछु । बिहान उठ्दा रमा मैसँग सुतेकी थिइन् ।
आज काइला काकाको घर निब्जिने दिने । काइला काकाले रमालाई पनि लिएर आउन भनेका थिए । मन नराम्रो भए पनि केही भनिन् । कुरा सामान्य थियो । मानौ मैले केही गल्ती गरेको छैन, रमाले पनि आफूले गरेको गल्ती मैले थाहै पाएको छैनन् झैं गरेकी थिइन् । हामी काइला काकाको घरतिर लाग्यो । काइला काकाको घरमा मान्छे धेरै जम्मा भएका थिए । हामीले घर छाउने सक्यौ । रमाले पानी बोक्ले, भान्सातिर काम गरिन् । बेलुकी घर निब्जियो । काकाले घरमा खसी काटे । भोजभतेर चल्यो । मगरको बस्ती । मगरकै छोरा परियो । अलिअलि भन्दाभन्दै धेरै खाइएछ । रमालाई घर पठाएँ । काइला काका, कामे, सार्के, गोठे, पेले र म बसेर हिसाबकिताब ग¥यौं । अलिकति खाने थप्यौ पनि ।
‘भाउजूको चालामाला राम्रो छैन है दाइ ।’ गोठेले कुरा निकाल्यो ।
‘रामेलाई थाहै होला नि ?’ काइला काकाले बोलें । मलै थाहा भएको कुरा अरुले कसरी थाहा पाएछन् ? म केही बोलिनँ । मानौ म मातेको छु ।
‘फलानोसँग बस्छ भन्ने गाउँभरि हल्ला छ है दाइ ।’ कामे बोल्यो । पेंले र सार्केले पनि उस्तै कुरा गरें । मनमा रिस उठ्यो । थाहा पाएर पनि मैले मातेर थाहा नपाएझैं गरिरहें । थपिरह्यौं । उनीहरु मातेर कुरै नगर्ने अवस्थामा पुगे । म घरतिर लागें । रातको दश बजेतिर म घरमा पुगें । रमा सुतेकी थिइन् । एक मनले साचें ‘खुकुरीले छप्काइदिउँ ?’ अर्को मनले साच्यो ‘दुबैलाई छप्काइदिन्छु ।’ म रमाको छेउमा गएर सुतेझैं गरें ।
मध्यरात भयो । रमा उसैगरी उठिन् । अघिल्ला दिनहरुमा जस्तै हिँडिन् । मैले पेटारोबाट खुकुरी निकालें । म पनि घरबाट निक्लिएँ । सधैंझैं गोठेको घर काटिन्, खोल्सा काटिन्, मुखियाको घर, अँँगन काटिन् । मुखिया बाको पाँचवटा घर पार गरिन् । एउटा घर आयो । त्यस घरलाई गाउँका सबैले ‘पल्लोघर’ भन्छन् । त्यहाँँ बस्छन्, वीरे कान्छा । उनी उही ढोकामा उभिइन् । ढोका ढकढक ढकढक गरिन् । खोलियो । भित्र छिरिन् ।
म रिसले आगो भएँ । आफन्त, सारा संसार केही सोचिनँ । सरासर गएँ । ढोका लात्ताले हानें । अगालो लगाएकै रहेनछन् । उनीहरु दुबैजना ओछयानमा थिए । ‘रमा, तँ र वीरे कान्छा मरिस् ।’ यो भन्दा अरु शब्दै फुरेन । मैले साथमा लगेको खुकुरीले दुबैलाई छप्काइदिएँ ।
(स्रोत : श्री रुपरेखा)