~स्नेह सायमि~
निर्जनको घर कास्की जिल्लाको दूर्गम गाउँमा थियो। त्यहांबाट बसाईं सरेर भरतपुर चितवन आइपुग्दा निर्जन ५ वर्षको थियो। निजर्नका बाले गाउँमा पुर्खौली घर जग्गा बेचेर पाएको पैसाले भरतपुरमा भूँइतल्ले घर र एक कट्ठा जमिन किने। निर्जनका बा सानैदेखि राजनीतिमा सक्रिय थिए। भरतपुर बसाइ सराइपछि पनि निर्जन, निर्जनकी ८ वर्षे दिदी समिता र निर्जनको आमा निर्मलालाई घरमा राखेर भूमिगत राजनीतिमा लागे निर्जनका बा।
निर्जन र समिता भरतपुरको एउटा स्कुलमा भर्ना भए। आमा घरकै काम ग गर्नुहुन्थ्यो, घर खर्च चलाउनका लागि सानोतिनो कामको खोजीमा पनि हुनुहन्थ्यो। बा पार्टीको पूर्णकालीन सदस्य हुनाले परिवारको लागि निकै कम समय मात्र दिन सक्नुहुन्थ्यो। बिहान, बेलुकाको छाक टार्न र स्कुल फिस तिर्नसम्म सक्ने आर्थिक हैसियत थियो। आमा अरुको खेतबारीमा काम गर्ने, सुत्केरीलाई तेल लाइदिने काम गर्नुहुन्थ्यो। निर्जन र समिता पनि दुवै मेहनती थिए। स्कुल फर्केलगत्तै आमाले दिएको खाजा खाने, होमवर्क गर्ने र करेसाबारीमा सागतरकारी रोप्ने, पानी दिने गर्थे।
निर्जनका बा महिनादिनमा प्राय एकपटक घर आउनुहुन्थ्यो। बा आउनु भएको दिन धेरै रमाइलो हुन्थ्यो। बाले निर्जन र समितालाई माया गरेर आमालाई सघाउनु है भनेर जानुहुन्थ्यो। ५ वर्ष चितवनमा बसिसक्दा निर्जन र समिताका धेरै साथी भइसकेका थिए। निर्जन ५ र समीता ७ कक्षा पढ्थे। एकदिन बा आएर भन्नुभयो, “ हामो पार्टीले जनयुद्धको घोषणा गर्ने भएको छ। म र आमा पनि घरमा बस्न सक्दैनौं। आमालाई पनि पार्टीको काममा लाग्नुपर्ने हुन्छ। तिमीहरु शीतल काकाको, श्याम मामाको वा अरु कुनै साथी शुभचिन्तकको घरमा बसेर पढ्नुपर्ने हुन्छ।”
निर्जन र समिताले बालाई अत्यन्तै आदर गर्थे। पार्टीको के काममा लागेका हुन् भन्ने त बुझेका थिएनन्। तर, बा जे काममा लाग्नु भा’छ त्यो सबैको हित हुने काम हुनुपर्छ भन्ने उनीहरुको बुझाई थियो। बाको निर्णय शिरोपर गर्नुबाहेक उनीहरुसँग केही विकल्प थिएन।
बा–आमाले निर्जन र समितालाई शीतल काकाको घरमा छोडेर जानुभयो। शीतल काका बाको भाइ हुनुहुन्थ्यो। शीतल काकाको घरमा काकी र दुईवर्षे भाइ नुतन थियो। उनीहरु शीतल काकाकै घरबाट स्कुल जान थाले।
तीन महिनासम्म त बसे। बसाइ सहज भएन। विहानै सबै परिवारको लागि खाना पकाउने, घर सफा गर्ने, किनमेल गर्न जाने, नुतनलाई खेलाउने, लगायतका काम गर्दागर्दै उनीहरु होमवर्क गर्न नसक्ने भए। घरको काम नगरी बस्न सक्ने स्थिति थिएन । होमवर्कका लागि सुत्ने समय कटाउनु पर्थ्यो, जुन उनीहरुलाई बानी परेको थिएन। तीन महिनामा उनीहरुको स्वास्थ्य, पढाइ दुवै कमजोर भयो। उनीहरुले बाआमालाई खुब सम्झे। राती ओछ्यानमा सम्झेर दुबैजना रुन्थे। बाआमा कहाँ हुनुहुन्छ भन्ने खबर थिएन।
तीन महिनापछि आमाको फोन आयो। निर्जनले अरु त भन्न सकेन, तर आफू शीतल काका कहाँ नबस्ने कुरा सुनायो। आमासँग अर्को विकल्प थिएन। स्कुलकै कारण पनि छोराछोरीलाइ अन्त सार्न सक्ने स्थिति थिएन। उनीहरुको फोन वार्तापछि घरमा शीतल काका, काकीको व्यवहार अझै नराम्रो भयो। ‘पाल्नु पनि पर्ने, पढाइदिनु पनि। गुनासो पनि सुन्नुपर्ने? जाओ कता जानु छ जाओ। आफ्नै छोराछोरीजस्तो पाल्दा पनि यति ठूलो गुनासो?”
निर्जन र समितासँग प्रतिवाद गर्ने कुनै क्षमता र समय थिएन। काकाकाकीको सबै काम गर्नु र जसरी पनि गुजारा गर्नु उनीहरुको लक्ष्य थियो। जेहोस् उनीहरु घरका नोकरजस्तै थिए। काकीको व्यवहार पचाउन अत्यन्तै गाह्रो थियो। उनीहरु कसरी त्यो घर छाड्न पाइएला भन्ने धुनमा थिए। स्कुलको परीक्षा सकिनासाथ उनीहरुलाई आमाको फोन आयो र उनीहरुको पढाइबसाइको व्यवस्था अन्तै हुने भयो। आफ्नै काकाकाकीको शोषणमा परेका निर्जन र समिता कहिलेकाहीँ बाआमालाई सोध्थे, “ यसरी कुन शोषणरहित समाजको श्रृजना गर्न युद्धमा हुनुहुन्छ।” आमाले आँखाबाट आँशु खसालेर मौन जवाफ दिन्थिन्। बा भन्नुहुनथ्यो, “विस्तार तिमीहरुले बुझ्दै जानेछौं र तिम्रा योगदानको गौरब पनि गर्नेछौ।”
निर्जन र दिदी समिता शितल काकाकहाँबाट श्याम मामाकहाँ बसे। तर ब्यबहारमा खासै परिबर्तन भएन। कथा घटना र पात्रहरु फरक तर समस्या जहाको तही। यसरी उनीहरुलाइ दइवटा स्कल एकै पटक पढ्ने मौका मिल्यो। एउटा स्कल अरुसंगै पास गर्न अर्को स्कल समाज बझ्न। कति पटक सेनाले केरकार गर्थ्यो। कति पटक साथीहरुले अछत जस्तै ब्यबहार गर्थे। तर पनि सहन बाहेक अरु बिकल्प थिएन।
अहिले ,१३ वर्षपछि निर्जन काठमाडौंको कलेजमा प्लस टु पढिरहेछ। समिता समाजशास्त्रमा स्नातक गर्दै छिन्। शान्तिप्रक्रियामा आएपछि निर्जनका बा मन्त्री भए, तर पनि उनीहरुको जीवनशैली सरल नै छ। मन्त्री क्वाटरमा पार्टीका कार्यकताहरुको घुइँचो लाग्थ्यो। निर्जन विहानको समय बाको सहायकको रुपमा काम गर्थ्यो। बासँग समय मिलाइदिने फोनमा बस्ने आदि।
मन्त्री भएको एक हप्तापछि शीतल काका क्वाटरमा देखा पर्नु भो फलमाला सहित र भन्नभो “ म त भाइ मन्त्री भाको भर बधाइ दिउँ भनेर आको, म पनि माओवादी पार्टीमै छ नि। हाम्रो पार्टी सत्तामा आएपछि त आफ्नो मान्छेलाइ बनाउन पर्यो नि।”
त्यो दिन शितल काकाले बालाइ भेट्न पाउन भएन। बा बाहिर जान भएको थियो। अर्को पटक फेरि आउन भयो र भन्नभयो
ओहो! निर्जन, लौ न बाबु बासँग समय मिलाउनुपर्यो, लौ त छोरा, तिम्रो भाइको लागि छात्रवृत्ति मिलाइदिने र मेरो वीरगञ्ज भन्सारमा सरुवा गराइदिने काम गर्नुपर्यो। आफ्नै घरमा हुर्काएको बदलामा यति पनि गर्दैनौ भन्ने लाग्या छैन मलाई त।”
निर्जनले टोलाएर हेरिरह्यो शीतलकाकाको अनुहार। सोच्यो, “यी दुई दाजुभाइ कति भिन्न? एकै आमाका छोराहरु पनि यस्ता हुनसक्छन्? कसरी सम्भव हुन्छ शोषणरहित समाजको सिर्जना यस्ता मान्छेहरुबाट।
(स्रोत : Mysansar.com)