~प्रणिका कोयु~
रक्सीको मात?
मिठो हुन्छ
तिम्रो माया जस्तै
आफ्नोपनमा रत्ताउने
रक्सीको मात?
तितो हुन्छ
तिम्रो तिरस्कार जस्तै
चुपचाप निल्नु पर्ने
रक्सीको मात?
पोल्ने हुन्छ
तिम्रो घृणा जस्तै
ताता थोपा झारिदिने
रक्सीको मात?
बेहोशी हुन्छ
तिम्रो सम्झना जस्तै
अकस्मात एकोहोरो बनाइदिने
रक्सीको मात?
मजस्तै हुन्छ
तर्सेको मनलाई थुमथुमाउन अनेक बहाना बुन्ने
रक्सीको मात?
जस्तोसुकै होस् डुबिदिने चलन छ
एक जुनी थामिदिने कलेजो जो छ!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)