~महेन्द्र महक~
उसको लागि यो असंख्य कार्यक्रममध्येको एक कार्यक्रम थियो । यस्ता तालिमहरु उसले थुप्रै दिइसकेको थियो । यस कार्यक्रममा पनि ऊ तालिम दिदै थियो । कार्यक्रममा थुप्रै संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो । यो कार्यक्रम एउटा पाँचतारे होटलमा भइरहेको थियो । उसले सेतो बोर्डमाथि बालअधिकारको बारेमा लेख्न थाल्यो ।
बालअधिकारका विषयवस्तु, बालअधिकारको अवस्था, बालबालिकाका अधिकार, अन्तर्राष्ट्रिय संघ संस्थाहरुले बालअधिकारका लागि खेलेको भूमिकाका बारेमा उसले राम्रै तालिम दियो ।
कार्यक्रमको अन्त्यमा चिया नास्ताको व्यवस्था गरियो । चिया र नास्ता हलमा नै आइपुग्यो । चिया बाँड्ने केटा भर्खरको थियो, अनुमानित तेह्र वा बढीमा चौध । ऊ चिया समाएर झ्यालनेर उभियो, तल धारानेर अर्को तेह्र–चौध वर्षको केटाले भाँडा मिस्दै थियो । झिँगाहरु भन्किरहेका जूठा भाँडाहरु मिस्दै ऊ बसिरहेको थियो र भित्रबाट साहु कराइरहेको थियो– ‘ए रामे ! गिलास प्लेट अलि छिटो मिस् !’
ऊ सेतो बोर्डतिर फर्कियो जसमा अझैं लेखिएको थियो, ‘विद्यालय जान पाउनुका साथै मनोरञ्जन, स्वास्थ्य र माया पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार हो !’
उसले चियाको घुट्की निल्यो, चिनी कम भएझैं लाग्यो उसलाई ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)