~आर.एम्. डंगोल~
बाटो सोध्दै छु
यतैकतै
बाटो पछ्याउँदै पछ्याउँदै
हिँडिएछ यहाँसम्म
यहाँसम्म आइपुग्दा
आफ्नै जस्तो नलाग्ने स्वभावले
पछ्याइरहेको छ मलाई ।
हिजोअस्तिजस्तै
उस्तै देखिन्छु
छालाको रङ उस्तै छ
हातखुट्टा, नाकमुख
हिँडाइ, बोलाइ, हँसाइ
सबै उस्तै जस्तो लाग्छ ।
तर भन्नेहरू भन्छन्
हिजोअस्तिजस्तो छैन मेरो स्वभाव ।
उस्तैउस्तै त छौँ
सँगै फर्किएका हामी
भोक आफैँलाई मात्र लागे जस्तो
दुखाइ आफ्नै मात्र भए जस्तो
आफैँलाई खुसी बनाउन
आफ्नै जस्तो नलाग्ने स्वभाव
हाम्रै साथमा छन् ।
थाहा छैन
सँगै फर्किएकाहरूलाई
आफ्नै स्वभाव कस्तो लाग्दो हो ।
हिँड्नुपर्ने दिशा
पार गरेको दूरी
र पुग्नुपर्ने गन्तव्यले
आफैँलाई यसरी भ्रमित तुल्याउँछ भन्ने सोचिएन
हराएको बाटोको नक्सा खोजेर
म यहाँ आइपुगेको छु
हिँड्नुछ अझै
र बाटो सोध्दै छु
यतैकतै ।