कथा : बुधेको जीवन

~विवेक वाइबा~

बुधे दूरदराजको ग्रामीण इलाकामा बस्ने गर्दछ । उसको दाम्पत्य जीवन यतिबेला उजाड र शुन्य छ । किनकी, उनीहरु आफ्नो जीवनदेखि असन्तुष्ट देखिन्छन् । उनीहरुको जीवन वास्तवमा सुखमय जीवनयापनका हरेक भौतिक आवश्यकताहरु प्राप्तिका लागि संघर्षयुक्त परिश्रम गर्नुपर्ने अवस्था छैन । कुनै कुराको अभाव त्यो दम्पतीले भोग्नु परेको छैन । तर, पनि यो परिवार अत्यन्त दुःखी छ । विवाह गरेको यतिका वर्ष बितिसक्दा पनि बुधेको जीवनरुप सुन्दर वागमा सन्तान रुपी फूल फुल्न सकेको छैन, जसको कारण उनीहरुको जीवन निरश भएको छ ।

उनीहरुले सन्तान प्राप्तिको निम्ति धामी, झाँक्री, ज्योतिष, दान र धर्मलगयतका थुप्रै कामहरु गर्न बाँकी राखेनन् । तर, अन्ततः डाक्टरी ओखती उपचारपछि मात्र बुधे र माइलीको दाम्पत्य जीवनमा केही सम्भावनाका संकेतहरु देखा परेका छन् । बैवाहिक जीवनको तेह्र वसन्तपश्चात उनीहरुको सुन्दर वागमा एउटा सुन्दर फूल फुलेको छ । माइलीको कोखबाट जन्मेको बच्चाले गर्दा बुधेको परिवारमा उल्लासमय वातावरण छाएको छ । उनीहरु दुवैको उजाड जीवन लामो समयपछि अहिले वात्सल्यताले भरिपूर्ण बनाएको छ । उनीहरुको जीवनमा खुशी छाएको छ । बुधे र माइलीको परिवार यतिबेलाको लागि पूर्णझैं देखिएको छ ।

समय जसरी पनि बित्न सक्छ । तर, समय भनेको विस्तारै भएपनि बित्न सक्छ र बिती पनि रहेको छ । अहिले बुधेको जीवनशैली आफ्नै रफ्तारमा कुदिरहेको छ । केही बहार छाएको छ, १४(१५ वर्षको लक्का जवान अवस्थामा छोरा पुगिसकेको छ । उसको नाम मंगले राखेका छन् बुधे दम्पतीले । मंगलेले आफ्नो घर परिवारबाट पूर्ण स्वतन्त्रता उपभोग गर्न पाएको छ । ऊ भाग्यमानी रहेछ । उसले जीवनमा अभाव र अपूर्णताको अनुभव कहिल्यै गर्न परेको छैन । यसकारण पनि उन्मत्तझै स्वभाव प्रदर्शन गर्दै हिंडेको छ मंगले ।

आजकाल ऊ आफ्नो टोलका नयाँ युवाहरुको बीचमा प्रियझैं भएको छ । वास्तवमा ठिटाहरुको नाइके नै भएको छ आजकाल मंगले । गाउँले ठिटाहरुको सहर प्रवेशपछि सहरिया संस्कृति सिकेर पश्चिमा ढर्रामा आफूलाई विकास गर्न खोजिरहेका हुन्छन् किनकी सहरमा पश्चिमा संस्कृतिको प्रभावका कारण युवा पिढीको स्वभावमा केही परिवर्तन भएको छ । त्यसकै छाप परेर होला मंगले आधुनिक ठिटो बन्ने सौखले गर्दा आजकाल प्रायः नशाको सुरमा बेहोस हुने गर्दछ । कुलत र कुसंगतका कारण मंगलेलाई जाँड, रक्सी त नभई नहुने भएको छ । ऊ आजभोलि पैसाको लागि घरमा आमाबुबासँग पनि झगडा गर्ने भएको छ । पैसाकै लागि कुटपिट र तोडपोड गर्नेजस्ता काम गर्न पनि पछि पर्दैन मंगले आजभोलि ।

हिजो अस्ति मात्र पैसा नदिएका कारण आफ्नै आमालाई छुरी देखाएर गलरी चुँडर आजसम्म घर फिरेको छैन । आफ्नो लामो समयको त्यागपछि जन्मिएको एक मात्र छोराको यो हविगत देखेर बिचरा ! बुधे दम्पती चिन्तित देखिन्छ । मंगलेको गुण्डागर्दीपूर्ण व्यवहार देखेर उसका आमाबुबा त्रसित छन् । कुन दिन यसले पैसाको लागि हामीलाई पनि मार्ला भन्ने डर छ उनीहरुलाई । त्यसैले होला, आजभोलि त समसाँझै झ्याल ढोकाको चुकुल बलियोसँग लगाएर आफूहरुलाई सुरक्षित ठान्ने गरेका छन् बुधे दम्पतीले ।

-2007-10-2

(स्रोत : Freenepal)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.