~सुवास भट्ट~
म एक लामो यात्रामा
मिल्टनको प्याराहाइज खोज्दै
निरन्तर एक लामो अनि
कठिन बाटोमा हिंडिरहेछु ।
मेरो बाटोमा तलवारहरू छन्
धारिला तरवारमा टेक्दै,
म कुनै घाउहरूको पर्वाह नगरी
अगाडि दृढ विश्वासका साथ
एक लामो यात्रामा हिंडिरहेछु ।
मिल्टनको सुन्दर प्याराडाइज
जहाँ कुनै दुःख अनि भेदभाव छैन
वर्ग संघर्ष रहित व्यवस्था जहाँ
योग्यता अनुसारको काम अनि
काम अनुसारको दामले
पेट भरी खान लाउन पुग्छ
म त्यही यात्रामा छु निरन्तर
एक लामो कठिन अनि साहसिक यात्रा
मेरा पछाडि मेरै सपना देख्ने
हजारौं श्रमजीवी छन्, तर
भीरै भीरको यो लामो कठिन
यात्रामा कति सहयात्री चिप्लिएर
तल खोल्सामा पछारिएका छन्
त्यही रनभुलमा परेका छन्
तर पनि
मैले हरेस खाएको छैन
मेरै आँखा अगाडि घुमिरहेको प्याराडाइज
अर्जुनको अर्जुनदृष्टि सरह
मेरो निशानामा म केही देख्दिन
एक धु्रव सत्य वास्तविकता
इतिहासले प्रमाणित गरेका प्रमाणहरू
मेरा अगाडि छताछुल्ल छन्
र, पो म निरन्तर प्याराडाइजमा
जान नदिने सैतानहरू विरूद्ध
धावा बोलिरहेछु,
तर कठिन छ
किनकि मेरा चारैतिर सैतानहरू छन्
जो मलाई चारैतिरबाट धारिला अस्त्रले
प्रहार गर्दै, मेरा बाटाहरू छेक्छन् तर
यो दृढ आत्मविश्वासलाई परास्त गर्न
नसक्ने सैतानहरू मेरा अगाडि लोक, (लोभ)
का चाराहरू फाल्दै , जालहरू फाल्दै
यात्रा रोक्ने दुष्प्रयास गरिरहेछन्
हो, मेरा कति सहयात्री त्यो चारामा
चरा झै फसेका छन्
तर, मेरो यो निरन्तर लामो यात्रामा
त्यस्तो कुनै शक्तिले बाधा पु¥याउन सकेन
र पो अत्तालिएका सैतानहरू
मेरा विरूद्ध मेरै सहयात्री लगाएर
धावा बोलिरहेछन्,
तर पनि
सबै प्रयास निस्काम पार्दै
म आफ्नो गन्तव्यमा अगाडि बढिरहेछु
म मेरा प्याराडाइजको खोजीमा
हजारौं सैतानहरूसँग लड्न
दरो मुटु लिएर जन्मेको छु
मेरो हुंकारले थर्कमान सैतानहरू
मेरा विरूद्ध चक्रव्यहु बुनिरहेछन्
तर म महाभारतको अभिमन्यु होइन
जो चक्रव्यहुमै मारिन्छ
मैले चक्रव्यूह तोड्ने ज्ञान पनि सिकेको छु
त्यसैले खबरदार सैतानहरू ।
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ८ – Dec. 28, 2011 – २०६८ पौष १३ गते, बुधबार)