कार्यपत्र : साठीको दशकमा नेपाली उपान्यास : एक सिंहावलोकन

~महेश पौड्याल~Mahesh Paudyal

सबैभन्दा सुलभ र प्रजातान्त्रिक साहित्यक विधा भएकै कारणले उपन्यासले पाठकसँग सम्वन्ध स्थापित गर्नुपर्छ । आवरण, सकारात्मक समीक्षकबाट उद्धृत गरिएका हरफ जस्ता अनेक प्रकारका बाह्य प्रभावहरूले यस सम्बन्धलाई सहज या कुण्ठित तुल्याएको पनि हुनसक्छ । तथापि, उपन्यासले संसारमा आफ्नो बाटो आफैँ स्थापिन गर्न सक्नुपर्छ ।
— जोन म्युलान (हाउ द नोवल वक्स)

यस कार्यपत्रले साठीको दसकमा नेपाली उपन्यासको क्षेत्रमा देखिएको संख्यात्मक र गुणात्मक परिवर्तनको सामान्य मूल्याङ्कनको जमर्को गरेको छ ।  तर विषयको बृहत्ता र यस कार्यपत्रले समेट्न अपेक्षित व्यापक धरातललाई दृष्टिगत गर्दा  यस कार्यपत्रको सीमाक्षेत्रभित्र धेरै कुरालाई सम्वोधन गर्न नसकिने हुँदा केही प्रतिनिधि उपन्यासको बाहेक सबै उपन्यसाको नाम लिनु वा संश्लेषण गर्नु अथवा नेपाली भाषाका अतिरिक्त अन्य भाषामा लेखिएका नेपाली सर्जकका उपन्यासहरूलाई पनि यस कार्यपत्रमा समेट्नु लगभग असम्भव भएको कुरा स्वीकार गर्द यिनै सीमाहरूभित्र रहेर एक दशकको नेपाली उपान्यासको स्थितको एउटा सङ्गोपाङ्गो संश्लेषणमात्र प्रस्तुत गर्ने जमर्को गरेका छ । नेपालको सीमानाभन्दा बाहिर लेखिएका नेपाली उपन्यासको विश्लेषण पनि यस कार्यपत्रको दायराभन्दा बाहिर राखिएको छ, तर सान्दर्भिक ठानिएको स्थितिमा तिनीहरूमध्ये केहीको उल्लेख गरिएको छ । यस परिधिभित्र यस कार्यपत्रको मूल कथ्य यो छ, कि साठीको दशक यथार्थवादी उपन्यासको दशक हो, र यस समयमा नेपाली उपन्यासले  इतिहासमै नदेखिएको व्यवसायिक सफलता प्राप्त गरेको छ । तर सङ्ख्याका दृष्टिले उपन्यासको लगभग बाढी नै आएको यस दशकभरिको उपन्यास सङ्कथन केही आठ–दस वटा उपन्यासकै वरिपरि केन्द्रित हुनाले नेपाली उपन्यासमा साँच्चिकै गुणवत्ता स्थापित गर्न लेखकहरूले अझै धेरै परिश्रम गर्नुपर्ने देखिन्छ ।

साठीको दशक नेपाली इतिहासमा सबैभन्दा ठूला परिवर्तनहरूका दशकहरूमध्ये एक हो । यसै दशकमा बाह्रवर्ष लामो माओवादी जनयुद्ध आफ्नो चरम उत्कर्षको विन्दुमा पुग्यो । यसै दशकको शुरुमा २०६२–२०६३ को आन्दोलन भयो, जसको परिणामस्वरुप विगत २५० वर्षदेखि नेपालमा शासन गर्दै आएको राजतन्त्रको पनि अवसान भयो र नेपाल एक गाणत्रान्तिक, धर्मनिपेक्ष र समावेशी मुलुकको रुपमा उदाउन पुग्यो । माओवादी जनयुद्ध र यी राजनैतिक परिवर्तन सँगसँगै नेपालमा आम जनताको चेतनाको स्तरमा निकै ठूलो बृद्धि भएको र जनता आफ्ना अधिकारबारे निकै सचेत भएको पनि देखिएको छ । हरेक प्रकारका शोषण र ज्यादतीका बिरुद्ध संघर्ष गर्नुपर्छ भन्ने जागरण नेपाली जनतामा प्रचूर मात्रामा विकासित भएको देखिएको छ । महान जनआन्दोलन, मधेश आन्दोलन, संविधान सभाको दुईवटा चुनाव, राजनैतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, नेपालीहरूको विदेश पलायनको बढ्दो दौर, नेपालबाहिर जाने कामदारले पाएको दुखको बढ्दो गाथा, अधोगत आर्थिक विकास, बढ्दो व्यथिति, स्थगित विकास प्रक्रिया आदि तमाम अनुभव पनि साठीको दशकले नेपाललाई दिएर गएको हो । यसरी हेर्दा, यस दशकको पूर्वार्धले नेपालमा निकै उत्साह र उमङ्ग दिएर गएको भएपनि त्यसपछि देखिएको राजनैतिक अन्यौल, अकर्मण्यता र व्यावहारिक विफलताका कारण नेपालमा नैराश्य र पीडाको पनि दौर चलेको अनुभव गर्न सकिन्छ । सँगसँगै, यसै दशका, सदियौँदेखि दबेर रहेका अल्पसङ्ख्याक नेपाली, आदिवासी, जनजाति तथा लैङिगक अल्पसङ्ख्यक वर्गको अधिकार र मुक्तिको संघर्ष तथा पहिचानको खोजी पनि यसै दशकको उत्तराद्र्धतिर निकै निब्रताका साथ उठेको पाइन्छ । देशको अर्थराजनैतिक यथार्थको यस प्रकारको व्याख्या विश्लेषण गरिनुको अर्थ यो हो, कि यस बेला लेखिएको नेपाली साहित्यले पनि मोटामोटी रुपमा यिनै यथार्थ र समस्यालाई सम्वोधन गर्ने कोशिस् गरेको छ ।

विषयवस्तुको विविधतालाई मूल्याङ्कनको अर्को छुट्टै कसी मानेर, पहिले नेपाली उपन्यासमा संख्यागत र व्यवसायिक रुपमा आएको परिवर्तनलाई हेर्ने हो भने साठीको दशक नेपाली उपन्यासमा एउटा चमत्कारिक विकासको दशक रह्यो । नेपाली उपन्यासको इतिहासमा बीपी, डायमण्ड समशेर, पारिजात, धच गोतामे र धु्रवचन्द्र गौतमेबाहेक विरलै रुपमा चर्चामा आउने गरेका उपन्यसको परम्परामा साठीको दशकले एक्कासि व्यवसायिक दृष्टिले एकपछि एक प्रतिनिधि उपन्यास दिएर गएको साँचो हो । समालोचक माइकल हट भन्दछन्, “२०६२ सालतिर आएर नेपाली उपन्यासले एक व्यावासायिक सफलता पनि प्राप्त ग¥यो, जुन त्यसभन्दा अगाडि कहिल्यै अनुभव गरिएको थिएन” (३) । नारायण वाग्लेले २०६२ मा प्रकाशित गरेको उनको पहिलो उपन्यास पल्पसा क्याफेको लोकप्रियता, बिक्री भएका त्यस उपन्यासका प्रति, र आजपर्यन्त जारी त्यसको लोकप्रिय चर्चालाई दृष्टिगत गर्ने हो भने र त्यसपछि आएकास कृष्ण धरावासीको राधा, कृष्ण अबिरलको रक्तकुण्ड, बुद्धिसागर चपाइँको कर्नाली ब्लुज, युग पाठको उर्गेनको घोडा, अमर न्यौपानेको सेतो धरती र सुबिन भट्टराईको समर लभको लोकप्रियता र व्यवसायिक सफलताले माइकल हटको भनाइलाई पुष्टि गर्न सकिने धेरै आधारहरू भेटिन्छन् ।

साठीको दशकमा सङ्ख्यागत हिसाबले कति उपन्यास छापिए, त्यसको आँकडा प्रस्तुत गर्न कठिन नै होला, तर प्रतिनिधिमूलक रुपमा आएका र चर्चामा रहेका उपन्यासको प्रवृत्ति हेर्दा यस दशका नेपाली उपन्यास मूलतः यथार्थवादी धारा, स्वच्छन्दतावादी धारा तथा प्रयोगवादी धारा गरी तीन प्रमुख धाराहरूको बाटोबाटै अगि बढेको प्रतीत हुन्छ ।  यस दशकमा लेखिएका अधिकांश उपन्यासहरू यथार्थवादी परम्पराका हुन्, जसभित्र हामी मूलतः सामाजिक यथार्थवाद, प्रगतिवाद र मनोविश्लेषणात्मक अथार्थवदी धारा प्रमुख रुपमा पाउँछौ, उद्यपि केही उपन्यास आदर्शोन्मुख यथार्थवादी र ऐतिहासिक यथार्थवादी पनि देखिएका छन् । संख्यागत दृष्टिले यस दशकमा च्वच्छन्दतावादी उपन्यासको बाली त्यति उर्वर देखिँदैन, जसको सम्भावित कारण यो हो कि द्वन्दग्रस्त मुलुकको मनोविज्ञान स्वेरकल्पना र च्वच्छन्दतावादी चिन्तनभन्दा यथार्थवादी चिन्तनका लागि नै बढी उर्वर हुने गर्दछ । प्रयोगवादी नेपाली उपान्यासमा मूलतः नारीवादी उपन्यास, आदिवासी जनजाती र अन्य अल्पसङ्ख्यकहरूको पहिचान र सामाजिक न्यायको मुद्दालाई लिएर लेखिएका उपन्यास तथा परम्परागत शैलीका अस्तित्ववादी उपन्यासहरू प्रकाशित भएको देखिन्छन् ।

१९९१ तिर प्रकाशित रुद्रराज पाण्डेको उपन्यास रुपमाति बाट शुरु भएको मानिएको आधुनिक नेपाली उपन्यासको आर्दर्शोन्मुख यथार्थवादी धारा भवानी भिक्षु र भीमनीधी तिवारी हुँदै साठीको दशका आउँदा विभिन्न कारणहरूले गर्दा प्रयोगबाट हट्दै गएको देखिन्छ । यस दशकमा प्रकाशित बखतबाहादुर थापाको कुहिरो र काग (२०६१) तथा रुकु कार्कीको जीवनज्योति (२०६४) बाहेक यस धाराका त्यति सफल कृति आएको देखिँदैन । कुहिरोको काग मूलतः प्रेमका आधारित उपन्यास हो जसले बालविवाह र अस्वभाविक बैवाहिक सम्वन्धबाट आएको मनोवैज्ञानिक पीडालाई मूल विषय बनाएको छ । जीवनज्योति मूलतः नारी–पुरुष सम्वन्धको उपन्यास हो, जसले सशस्त्र द्वन्दको परिवेशलाई पारिवारिक सम्वन्धहरूको सापेक्षता चित्रित गरेको छ । यसैगरी, यथार्थवादको अर्को स्वरुप ऐतिहासिक यथार्थवादी धाराका पनि केही उपन्यास साठीको दशका लेखिए । डायमण्ड समशेर र दौलतविक्रम विष्टजस्ता दिग्गज उपन्यासकारले बसालेको यस ऐतिहासिक यथार्थवादी धारामा सङ्ख्यात्मक रुपमा निकै कम लेखिए । यस धारामा उल्लेख गर्न योग्य नाम श्रीकृष्ण श्रेष्ठको उपन्यास भीमसेन थापाको हो र कृष्ण अबिरलको रक्तकुण्ड हुन् ।

२०६३ मा प्रकाशित कृष्ण अविरलको रक्तकुण्ड नेपाली उपन्यासको हुलमा  एक पृथक पहिचान स्थापित गर्न सफल उपन्यास हो, उद्यपि आलोचकहरू यस उपन्यासको प्राज्ञिक महत्वका बारेमा विभाजित देखिन्छन् । दरवारका दुई पूर्व कर्मचारीको अनुभवको आधारमा भनिएको, तर तथ्यभन्दा पनि दरवार सम्वन्धीका जनविश्वासका आधारमा लेखिएको यस उपन्यासले दरवार हत्याकाण्ड तथा दरवारभित्र हुने गरेको आपराधिक गतिविधिहरूको बारेमा काल्पनिकताकै कलेवरमा सही केही खुल्दुली मेट्ने प्रयास गरेको हुँदा यस उपन्यासको लोकप्रियता अभूतपूर्व रह्यो ।

साठीको दशकमा सामाजिक यथार्थवादी धाराका उपन्यासको संख्याका दृष्टिले सबैभन्दा उर्वर भएको देखिन्छ । सशस्त्र द्वन्द र देशले भोगेको निरन्तर अधोगत राजनैतिक, आर्थिक र सामाजिक व्यथितिका कारण पनि यस धारका उपन्यासले बढी फक्रन पाएको अनुमान गर्न सकिन्छ । २००४ मा लेखिएको लैनसिंह बाङ्देलको मुलुकबाहिरबाट शुरु भएको मानिएको यस धारामा साठीको दशकमा प्रविष्ट भएका केही उपन्यास नेपाली उपन्यासको इतिहासकै सफलतम उपन्यासहरूमध्ये पर्दछन् । कविता पौडेलको बालचीत्कार (२०६२), पद्मावती सिंहको समानान्तर आकाश (२०६२), बलदेब मजगैयाको विवशता (२०६२) र मानसी (२०६३), हरिहर खनालको उज्यालोको खोजीमा (२०६५), प्रभा कैनीको अनावृत्त (२०६७) तथा बुद्धिसाग चपाइँको कर्नाली ब्लुज (२०६७) यस धाराका सफल कृति हुन् । लोकप्रियता, प्रभावकारिता र व्यवसायिक सफलताकै कारण चर्चामा रहेको बुद्धिसागर चपाइँको कर्नाली ब्लुज यस धाराको सबैभन्दा सफल कृति भएको ठहर गर्न सकिन्छ । बाबु–छोराको सम्वन्धका सूक्ष्म पाटाहरूमा आधारित यस उपन्यासले प्रथम पुरुषी कथनको माध्यमद्वारा दुख, विमार, द्वन्द र गरिबीबाट आक्रान्त बाबु र सपना बोकेर निरन्तर विस्तारित क्षितिजतिर हुइँकिँदै गरेको छोरोको बीचको सम्बन्धलाई कारुणिक रुपमा प्रस्तुत गरेको छ । कैनीको अनावृत्त छोरीहरूको पीडामा आधारित उपन्यास हो, जसले आधुनिक सुविधासम्पन्न भइसकेको नेपाली समाजमा अझै पनि छोरीप्रति गरिने दुव्र्यावहारलाई विषयवस्तु बनएको  ।

आलोचनात्मक यथार्थवादी धारा नेपाली उपान्यासकारले सबैभन्दा बढी प्रयोग गरेको अर्को धारा हो, जसको बाहुल्य साठीको दशकमा पनि उत्तिकै देखियो । २०११ मा प्रकाशित हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छेबाट शुरु भएको मानिएको यो धाराका अनुयायी लेखकहरू आज पनि नेपालमा ठुलो सङ्ख्यामा पाइन्छन् । जगदीश घिमिरे, ध्रुवचन्द्र गौतम, बानीरा गिरिजस्ता चर्चित लेखकहरूले अङ्गीकार गरेको यस धाराले समाजमा देखिएका यथार्थलाई आलोचनात्मक रुपमा प्रस्तुत गर्ने गर्दछ । हाम्रो आफ्नै समयमा नारायण ढकालको प्रेतकल्प (२०६५), प्रदीप नेपालको स्वप्निल लहर (२०६३), नारायण वाग्लेको पल्पसा क्याफे (२०६३) र मयुर टाइम्स (२०६७), युग पाठकको उर्गेनको घोडा (२०६७) शरद पौडेलको सिमाना वारिपारि (२०६१), बखतबहादर थापाको कालचक्र (२०६४), किशोर नेपालको शहरको कथा    (२०६८) नयनराज पाण्डेको लू (२०६९), डा. तारालाल श्रेष्ठको सपनाको समाधि (२०६९) जगदीश घिमिरेको सकस (२०६९) आदि प्रमुख छन् । निकै लोकप्रिय बन्न पुगेको नारायण ढकालको प्रेतकल्प साठीको दशमा नेपालले पाएको एउटा प्रभावशाली उपन्यास हो । साझा पुरस्कार जितेको यस उपन्यासले जातीय विभेद र छुवाछुत बाट ग्रस्त नेपाल अतीतका भूलहरूका कारण अझैसम्म पनि सच्चिन नसकेको निचोड निकालेको छ, जसका लागि एकात्कम राज्यसंचालन व्यवस्थालाई पनि जिम्मेवार मानिएको छ । अधिकांश काल्पनिक भए पनि यस उपन्यासका चरित्रले एक वास्तविक विगतको प्रनिनिधित्व गरेजस्तो बोध गर्न सकिन्छ, जुन विगत आजपर्यन्त आफ्ना सम्पूर्ण कुरुपताका साथ हाम्रो समयमा पनि विद्यमान छ ।

पल्पसा क्याफे नेपाली जनयुद्धकै सेरोफेरोमा हराउँदै भेटिँदै गरका दृश्य र पल्पसाको कथामा आधारित उपन्यास हो, जसले ग्रामीण नेपालको जर्रर यथार्थ र द्वन्दले जन्माएको अकल्पनीय मानवीय सन्त्रासको कथा बोल्छ । “फिक्सन मोर रियल देन फेक्ट अर्थात तथ्यभन्दा पनि बढी यथार्थपरक” कल्पना बोकेको उपन्यास भनेर समीक्षक कुन्दा दिक्षीतले (नेपाली टाइम्स, १५ जुलाई २००५) गरेको टिप्पणी यस उपन्यासको एक भव्य मूल्याङ्कन हो भन्न सकिन्छ । यस उपन्यासबाट सेलाएको नेपाली उपन्यास परम्परा एक्कासि पुनः  जाग्रत भए। आएको र विगतमा कहिल्यै पनि पुग्न नसकेको एक मानविन्दुमा पुगेको हो भन्न सकिन्छ ।

२०६२ मा प्रकाशित पल्पसा क्याफेको अपार सफलतापछि साठीको दशकमा प्रकाशित, अत्यन्त सफल मानिएका केही उपन्यसहरू विगतको इतिहासमा टेकेर पनि उभिएका छन् । यीमध्ये कविपयले सुदूर इतिहासबाट मिथकीय शैलीका विषयवस्तुलाई यथार्थावादी संरचनामा बुनेर नयाँ स्वाद समेत पस्केका छन् । यस कोटीको एक अत्यन्त सफल र चर्चित उपन्यासहरुमा युग पाठको उर्गेनको घोडा एक हो । माओवादी छापामारको रुपमा रहेकी म्हेन्दोको तामाङ जातीको मुक्तिको सपना, उसँग साझा सम्झनाको रुपमा रहेको उर्गेनको भव्य प्रभाव र यी पृथक अनुभववीच कथ्यपरम्पराबाट बग्दै आएको मिथकीय अनुभव यस उपन्यसको प्रयोगशील शक्तिको रहस्य हो । २०६७ मा प्रकाशित यस उपन्यासले निकै लामो अन्तरतलपछि मिथकीय सन्दर्भलाई आधुनिकताको कलेवरमा प्रस्तुत गरेर नेपाली उपन्यास परम्पारामा एउटा पृथक प्रयोग गरेको पाइन्छ । जगदीश घिमिरेको सकसले इतिहासका पानाभरि शासक वर्गले गरेको ज्यादतीलाई सूक्ष्मरुपमा प्रस्तुत गर्नुका साथै माओवादी संघर्षको समयमा संघर्षरत पक्ष, सरकारी पक्ष र आम जनताले भोगेका कटु यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । व्यवसायिक रुपमा पनि निकै सफल मानिएको नयनराज पाण्डेको लू मा देशको अस्मितामामाथि दिनदिन विकराल रुपमा झाँगिँदै गरेको वाह्य हस्तक्षेपले एक गरिबका समनाहरूमाथि पारेका कुप्रभावलाई सूक्ष्म ढङ्गबाट प्रस्तुत गरिएको छ ।

प्रगतिवादी धारा नेपाली उपन्यासको अर्को लोकप्रिय धारा हो, जसको प्रभाव साठीको दशकमा पनि उत्तिकै देखियो । हृदयचन्द्रसिँह प्रधान र खगेन्द्र सङ्ग्रौलाहरूको भव्य प्रभावले आलोकित यस धारामा साठीको दशकले पनि केही उल्लेखनीय कृतिहरू थपेर गएको छ जसमा गङ्गा श्रेष्ठको ज्वालामुखिमाथिको यात्रा (२०६०), ऋषिराज बरालको समरगाथा (२०६४), हरिहर खनालको समयको रोखाचित्र (२०६५) र सरला रेग्मीको प्रवाह (२०६६) प्रमुख हुन् ।

मनोविश्लेषण यर्थावादलाई प्रतिनिधित्व गर्ने कृतिको प्रकाशनका हिसाबले पनि साठीको दशक निकै उर्वर प्रतीत हुन्छ । मानिसको आन्तरिक मनोदशमा आधारित मनोविश्लेषणात्मक साहित्य, नेपाली उपन्यासको हकमा गोविन्दबहादुर मल्ल गोठालेको समयबाट शुरु भएको पाइन्छ । विजय मल्ल, विश्वेश्वरप्रसाद कोइराला, दौलतविक्रम विष्ट, सरुभक्त हुँदे साठीको दशकमा आइपुग्दा यस धारामा कृष्ण धरावासीजस्ता सिद्धहस्त आख्यानकार नेपाली गद्यसाहित्यले पाएको छ । साठीको दशकमा यस दिशमा प्रस्तुत हुन आएका उपन्यासहरूमा इन्दिरा प्रसाइँको उसको लोग्ने र बिरालो (२०६०), कृष्ण धरावासीको राधा (२०६२), टुँडाल (२०६५), सञ्जीव उप्रेतीको घनचक्कर (२०६४), मनिषा गौचनको वल्लीको डायरी (२०६३) नवीनबन्धु पहाडीको कृष्णा (२०६८) र अमर न्यौपानेको सेतो धरती (२०६८) आदि प्रभावशाली उपन्यास पाइन्छन् । धरावासीको राधा सायद यस कोटिको सबैभन्दा चर्चित उपन्यास हो । २०६७ का लागि मदन पुरस्कार पाएको कृष्ण धरावासीको उपन्यास राधा लाई पनि साठीको दशकाको अर्को एउटा  सुन्दर उपलब्धि मानिएको छ । एउटी नारी अर्थात राधाको दृष्टिबिन्दुबाट हेरिएको बैवाहिक सम्वन्ध र अन्यायका विरुद्ध गरिएको बिद्रोह यस उपन्यासको केन्द्रीय भाव हो । उता अमर न्यौपानेको सेतो धरती बाल विधवाको जीवन र मनोविज्ञानको एक सम्वेगपूर्ण अभिव्यक्ति हो, जसले एक नारी पात्रको दृष्टिविन्दुबाट एक विधावाको जीवनलाई केलाउने प्रयास गरेको छ । २०६८ सालका लागि मदन पुरस्कार प्रदान गरिएको यो कृति पनि साठीको दशको एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।

स्वच्छन्दवादी धारामा भने साठीको दशकले खासै धेरै कृति दिएर गएको देखिँदैन । कविता पौडेलको हीरा (२०६३) र राधिका रायाको कला (२०६३) बाहेर अन्य कृति त्यति उल्लेख्य नरहेको यस अनुसन्धाताको ठहर छ ।

प्रयोगवादी धारामा नेपाली उपन्यासलाई प्ररम्भिक कालमा अस्तित्ववदले निकै प्रभाव पारेको देखिन्छ ।

पारिजातको शिरीषको फूल (२०२२) र बीपीको तीन घुम्ती (२०२५) जस्ता उपन्यासले निर्माण गरेको यो धारामा साठीको दशकमा भने खासै नयाँ इँटा थपिएको देखिँदैन । ध्रुब सापकोटाको अकल्पनीय  र ध्रुबचन्द्र गौतमको अप्रिय (२०६७) लगायत अरु केही कृति, र गोविन्दराज भट्टराईको सुुकरातका पइला (२०६३) बाहेक यस कोटीका उपन्यास प्रभावकारी रुपमा आएनन् भन्दा पनि अत्युक्ति नहोला । तर, प्रयोगवादी धारामा नारीवादी उपन्यासको बाहुल्य भने राम्रो रहेको भेटिन्ट । यस धारामा भेटिएको उल्लेखनीय कृतिहरूमा गीता केशरीको निष्कर्ष (२०६०), भाषा भण्डारीको सम्झौता (२०६०), पद्यमावती सिंहको समानान्तर आकाश (२०६२), कृष्ण धरावासीको राधा (२०६२), बलदेव मजगैयाको मानसी (२०६३), उन्नति बोहोरा शीलाको सिक्काका दुई पाटा (२०६३) प्रभा कैनीको अनावृत्त र अनुमप रोशीको कुमारी आमा (२०६८) प्रमुख छन् ।

यहाँ नाम लिइएका र चर्चा गरिएका बाहेक पनि अनेक उपन्यासहरूले आख्यानका दृष्टिले यस दशकालई समृद्ध बनाएका छन् । यिनीहरूमा लीलबहादुर क्षेत्रीको प्रतिध्वनिहरू विस्मृतिका (२०६१, गीता केशरीको बदलिदो क्षितिज (२०६६),  ध्रुवचन्द्र गौतम  घुर्मी (२०६२), जेलिएको  (२०६२), एक असफल आख्यानको आरम्भ (२०६५), सातौँ ऋतु (२०६८)  भक्तबहादुर नेपालीको लीलावती (२०६५), विक्रमबीर थापाको माटो बाल्दो हो (२००७ सन)्  प्रदीप नेपाल अनौठो प्रेमकथा (२०६३), स्वप्निल लहर (२०६३), यात्रा (३०६७), शङ्कर भारतीको महापुरषको सन्तान (२०६४) बिन्द्या सुब्बाको  निर्गमन (२००६ सन्) होमनाथ सुवेदी यमपुरीको महल (२०६४) नयनराज पाण्डेको घामकिरी (२०६९), कन्हैया नसनानी रातो आँसु (२०६६) बलदेब मजगैयाको विवशता (२०६२) र मानसी (२०६३) भीम दहालको विद्रोह (२००५), इन्दिरा प्रसाइ उसको लोग्ने र विरालो (२०६०) कृष्ण धरावासी तपाई (२०६३) र टुँडाल (२०६५), चन्द्रकान्त आचार्यको मित्रता (२०६२), दासता मुक्ति (२०६३), न्युयोर्क सुन्दरी (२०६८) शान्ता श्रेष्ठको घाउ उसको दुखाइ मेरो (२०६०, बखतबहादर थापाको  कुहिरो र काग (२०६ र कालचक्र (२०६४) २०६०), परिवर्तनको पृष्ठभूमि (२०६१) रुकु कार्कीको मधुरिमा (२०६३) र जीवनज्योति (२०६५) शान्ति थापाको मोहनी डट कम (२००९ सन्) सरला रेग्मीको प्रवाह (२०६६), जेवी अधिकारीको प्रेमको अनुभूति (२०६७), निर्मल यादको गाउँको मान्छे (२०६७),  भूपति ढकालको स्वदशिएको मन्छे (२०६७) शिवभक्त शर्माको जलाइएका पानाहरू (२०६७), रुपा (२०६९) जीवनका लहरहरु (२०६९), उमेश देवकोटाको अधुरो रेखा (२०६८), कुमार थापाको केवल सिर्जना अनि प्रेरणा (२०६८), गजेन्द्र हमालको त्यो पहाडी कन्या (२०६८), डी बी तामाङ्को अँैठीको लकेट (२०६८) ताराकान्तको अधुरो आकांक्षा  (२०६८), पारशमणि शाक्यको कस्तो मान्छे (२०६८), जल्नै पर्ने जलाएनन (२०६९), पीताम्बर अधिकारीको झोडाभित्र (२०६८), रामलाला अधिकारीको गुडैतिर (२०६८) बासुदेव भाइसाबको संस्मरण (२०६८), सफर (२०६९), बिनिता वेदनाको पुनःजन्म (२०६८), शेरमान थापाको पत्थर बोल्छ (२०६८०, श्रमिक दिलीप कार्कीको कलमको हत्यार (२०६८), इस्मालीको सेतो आतङ्क (२०६९),  जयप्रसाद भेटवालको आकाश पाताल (२०६९), नन्दराम लम्सालको आरम्भ (२०६९) बमप्रसाद श्रेष्ठको रश्मि (२०६९),  कर्मठ पाखुराका दिगो पाइलाहरू (२०६६), रामप्रसाद अर्यालको चाकरी (२०६९), गिरिराज आचार्यको तुलसा (२०६२), मत्स्येन्द्र प्रधानको आरोहण (२०६५), मोहन चापागाइँको अनौठो प्रेम (२०६१), ऋषिकान्त अधिकारीको अमिरजीको गाउँभन्दा परको गाउँका (२०६२), शैलेन्दुप्रकाश नेपालको  अपरिभाषित (२०६३) केशव नेपालको चिथोरिएको देश (२०६३), मोहनबहादर कायस्थको शब्दजाल (२०६२), घनश्याम ढकालको रातो आकाश (२०६०), एबी सिँहको गर्लफ्रेन्ड (२०६४), लक्ष्मण सिटौलाको अपराजित युद्ध (२०६३), नरु थापाको रमिता (२०६०), सृष्टि (२०६३), नेपाल एकीकरण (२०६४), सामाजिक क्रान्ति (२०६८), महेश्वर शर्माको कथा करहको (२०६३), राजेन्द्रकुमार सङ्ग्रौलाको तुँवालोभित्र (२०६३), दृष्टि (२०६६), श्रीकृष्ण श्रेष्ठको भीमसेन थापा (२०६५), सागरमणि थापाको उपकार (२०६१), अग्निवर्षा (२०६५), प्रेरणा (२०६७), मनोज सार्थकको निष्ठुरी फर्केन (२०६३), सुस्मिता नेपालको उडेका उमेरहरु (२०६०) पत्रैपत्र (२०६८), पुण्यप्रसाद प्रसाइँको छापामार (२०६३), आइमाईमान्छे (२०६६) हरि खनालको कलाको जीत (२०६८), नेपाल कुश्शाको छोटो फ्रक (२०६१), पुष्पलता आचार्यको लामो अन्तरालपछि (२०६०), रोजी (२०६१), जयन्ती नियोग बेंक (२०६४), ऋचा ढुंगेलको अल्झिएका जीवनहरु (२०६०), कसमकुमार रानाको तिर्खा (२०६०), रखेल (२०६०), किशन तिवारीको प्रेमका धोका (२०६०), गङ्गा श्रेष्ठको ज्वालामुखिमाथिको यात्रा (२०६०), गौरा रिजालको अघोषित द्वन्द (२०६०), युद्धोपरान्त (२०६४), जीतसिँह भण्डारीको ममताको डायरी (२०६०), टेकबहादरर विक्रम सिँहको यौवनको आतंक (२०६०), देवी क्षेत्री दुलालको रङ्धोजी (२०६०) धनराज पेहेको प्रेम प्रतीक (२०६०), नरेन्द्रप्रसाद पोखरेलको जमुना (२०६०), बनमा फुलेको फुल (२०६०), नवराज शमाको बिग्रेको पुरुष (२०६०), पदमलाल भण्डारीको कर्णलीभित्र (२०६०), पीताम्बर उपाध्यायको बाटोमा बसेको बाघ (२०६०), बिनिता राईको साथीको मन (२०६०), बोधराज रेग्मीको बिदेसिनु पर्दा (२०६०), मेदनाथ सास्त्रीको बुवा (२०६०), रत्न सुन्चेउरीको सीमा (२०६०), विक्रम सिँहको हिरोनी नं १ (२०६०), विजयराज आचार्यको परिवर्तन (२०३), नयाँ बस्ती (२०६१), विनोद नेपालको गगन (२०६०), शशि भण्डारीको लक्ष्मी दिदी (२०६०) विचलन (२०६२) सदानन्द अभागीको जीवन लीला (२०६०), नियति (२०६१), तन्नेरी हजुरबा (२०६१), समीर शाहको परिदृश्य (२०६०) र कुहिरो र क्षितिज (२०६२), नवीनबन्धु पहाडीको कृष्णा (२०६८) आदि महत्वपूर्ण छन् । सुजाता रिमझिम, स्वागत नेपाल, हरिप्रसाद पाण्डेय, होराज श्रेष्ठ, उदय पाख्रिन, कृष्ण बराल, कौशिकी पुत्र, खोमराज शर्मा, गणेश शाह, गुरुप्रसाद शार्म रेग्मी, चुडामणि गिरि, सरस्वती पोखरेल, सुन्धु शर्मा, सौरभकिरण श्रेष्ठ, दीपक खडका, धीरकुमार श्रेष्ठ, यादव थपलिया, राजेश किराँत, सुषमा आचार्य, इन्द्रकुमार श्रेष्ठा सरित, उन्नति बोहोरा शीला, कपिल काफ्ले, राजेन्द पराजुली, श्रीधर पौडेल, पद्यराज जोशी, रोशन थापा नीरव, कञ्चन पुडाशैनी, राजव, नरेन्द्र पराशर, निरुपा प्रसून, मोहनराज शर्मा, रणेन्द्र बराली, ललिता दोशी, अनुपम रोशी, धनराज गिरी, आदि उपन्यासकारहरूको उपस्थिति पनि साठीको दशकमा निकै उज्यालो मानिएको छ ।

सङ्ख्यामा यति धरै र गुण र प्रभावमा नेपाली उपन्यासको इतिहासमै उल्लेख्य केही कृति दिएर गएको साठीको दशकले केही नयाँ कुराको पनि थालनी गरेको छ । यस दशकमा अपरम्परित केही अध्यायहरु पनि आरम्भ भएका छन् । सबल्टर्नको विषय, आदिवासी जनजातीको पहिचानको मुद्दा, वैकल्पित लैङ्गिकताका विषयवस्तुहरू र शारीरिक रूपले अशक्तहरूको मनोविज्ञान र वस्तुस्थितिमाथि नेपाली उपन्यासमा चिन्ता व्यापक रुपले भेटिन थालेको छ । अबका दिनमा नेपाली उपन्यास परम्परित, आदर्शवादी वा स्वच्छन्दवादी धाराबाट अगाडि बढ्ने सम्भावनाहरू भने देखिँदैन । अबको साहित्य पहिचानको, सामाजिक न्यायको, दमनका विरुद्धको र अल्पसङख्याकहरूको हालसम्म नलेखिएको साहित्यको बढी हुने सम्भावनाहरू देखिँदैछन् । साथै, नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तारको पनि कुरा चर्को रुपले उठिरहेको हुँदा मौलिक नेपाली अनुभवमा आधारित, अथावा नेपालीको निजी ज्ञानकोषमा आधारित उपन्यासहरू आउन् भनेर आग्रह राख्नु पनि स्वभाविकै हुनजान्छ ।

उपन्यासको बढ्दो लोकप्रियता र व्यावसायिकरणसँगै केही विकृति पनि देखिएका छन् । नेपली आख्यानलेखन परम्परामा प्रेत लेखन पनि छिरेको शङ्का गरिएको छ । अर्को, आफैँ कुनै छापासँग सम्वन्धित लेखक भएको खण्डमा उसको उपन्यासले बढी प्रवद्र्धन सुविधा पाउने गरेको पनि गुनासो सुनिएको छ । तल्लो वर्गको मुद्दामा आधारित भनेर लेखिएका कतिपय उपन्यास चर्को मूल्यका कारण त्यो तल्लोवर्गलाई ग्राह्य नुहुनले उपन्यास आफ्नो मूल अभिप्रायमै चुक्यो कि भन्ने पनि भनाइ छ । उपन्यासलाई बजर व्यवस्थापन गर्न अरु बिधा भन्दा सजिलो हुनाले प्रकाशन गृहहरूले उपन्यासको खोजीमा अन्य विधाका पाण्डुलिपिहरूलाई प्रधानताका साथ स्वीकार गर्ने र प्रकाशन–प्रवद्र्धन गर्ने नगरेको गुनासो पनि लेखकहरूबाट सुनएको छ । यी सबै आरोप र गुनासाहरूबाट आफूलाई मुक्त राखेर, सम्यक रुपमा आफ्नो नैसर्गिक काम गर्दै अगाडि बढेको खण्डमा नेपाली उपन्यासले वर्तमान समय आफू अनुकुल भएकोले सफलताका नयाँ शिखरहरू चुम्ने निश्चित छ ।

सन्दर्भ 

प्रधान, कृष्णचन्द्रसिँह. नेपाली  उपन्यास र उपन्यासकार । तेस्रो सं । ललितपुरः साझा प्रकाशन, २०५२ ।
पाण्डे, ज्ञानु । नेपाली उपन्यासमा लैङ्गिकता । काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान, २०६८ ।
बराल, कृष्णहरि र नेत्र एटम. उपन्यास सिद्धान्त र नेपाली उपन्यास । दोस्रो सं । ललितपुरः साझा प्रकाशन, २०५८ ।
लुइँटेल, लीला । नेपाली महिला उपन्यासकार । ललितपुरः साझा प्रकाशन, २०६८ ।
लुइँटेल, लीला ।  “महिलालेखन र नारीवादी नेपाली उपन्यास ।”
लुइँटेल, खगेन्द्रप्रसाद. नेपाली उपन्यासको इतिहास । काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान, २०६९ ।
सुवेदी, राजेन्द्र. नेपाली उपन्यास ः परम्परा र प्रवृति । दास्रो सं । ललितपुरः साझा प्रकाशन, २०६४ ।
शर्मा, तारानाथ । नेपाली साहित्यको इतिहास । तेस्रो सं । काठमाडौँ ः नवीन प्रकाशन, २०५१ ।
Hutt, Micheal. “Writers and Readers in Transitional Nepal”. Martin Chautari <www.martinchautari.org.np>
Mullan, John. How Novel Works.  Oxford: Oxford University Press,  2006.

महेश पौड्याल
केन्द्रीय अङ्ग्रेजी विभाग
त्रिभूवन विश्वविद्यालय
कीर्तिपुर, काठमाडौँ

(स्रोत : मिति २०७१ मंसिर २७ गते नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा साहित्य, कला, सङ्गीत प्रवद्र्धन समाज मकवानपुरद्वारा आयोजित ‘आख्यान विमर्श तथा सिर्जना वाचन’ कार्यक्रममा प्रस्तुत कार्यपत्र । )

This entry was posted in कार्यपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.