कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~

हिउँदका चीसा रात
कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख
शिशुहरू बेबी क्यारियरमा
मातृ–काखको ताप धिताइरहेका छन्
कुकुरका छाउराले मम्मीको काखबाट
बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन्
आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा
मौनता सिवाय विषय फुर्दैन, फुर्दै फुर्दैन
फुर्नु नि कसोरी !
कढुवा तेलमा ज्वानो फुरेको खै ?
कहाँ पाउनु ज्वानो मग्मगाएको मम्मीको काख
चिसा रात, शून्य साथ
पाउडर बसाएको मम्मीको काख
मम्मी र आमा
ज्वानो र पाउडर
परिभाषा खुट्याउन सके पो
भिन्नता छुट्याउन सके पो
कविता फुर्दो हो । ! !
स्नेहको सूर्य हराएको बेला
श्वेत पनि त स्निग्ध छैन
सूर्यको खोजीमा दिन कोलम्बस बन्न सकेनन्
कहाँ पाउनु नि अमेरिका
पाएर नि के गर्नु मम्मीको देश
न चुस्नु आमाको लाम्टा
न देख्नु चौबन्दी भेष
न रीत न प्रीत
कहाँ लेख्नु र आमाको गीत ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.