~आचार्य प्रभा~
भ्रममा नपरौ कोही
ठुलो देशमा गएर
सानो देशलाई मानसपटलबाट
निकाल्छु भनी
त्यसो —होइन ,
भौगोलिक स्वरूप सानो भएर के भो ?
आखिर —‘हीरा’सानो भएपनी
प्रज्वलित हुन्छ ,
आफ्नी आमा ”डल्ली ”,”पुड्की ”
भएपनी जन्म दिने आमा नै हुन्छिन
आकार भनेको त स्वरूप हो ,
आफ्नोपन र सर्वगुण होइन
विश्वस्त नहौ कहिल्यै पनि
द्रब्यको मुल्य उचा छ भनी
ठुलो देशमा दु:खले
सानो मन लिएर जब हामी
‘डलर’,’पाउन्ड ‘,जे नै कमाउछौ
तर —हामी भित्रको
स्वाभिमान,माया ,स्नेह,सारा
हामीले गुमाइरहेका हुन्छौ
हो —हामी रमाउन सक्छौ
अग्ला ,अग्ला गगनचुम्बी महलहरुका
उचाइ देखेर
तर —हामीले बिर्सिसकेकाहुन्छौ
सगरमाथा ,अन्नपूर्ण ,मकालुका अग्लाइहरु
हामी गम्किन सक्छौ महलभित्रको
बिलाशितापूर्ण जीवन भोगाइदेखी
तर —हामी बिस्थापित बन्छौ
आफ्नी आमाको सानो काखको
न्यानोपनको आभासदेखी
हुन सक्छ —कहिलेकही
आफ्नो आंगन पनि बिरानो हुन्छ
आफ्नी आमा पनि सौतेनी झै लाग्न सक्छिन
तर — आफ्नो आँगनलाई पैतालाको
भार मात्र बोकायौ भने
अनी —आमाको छातीलाई परेड खेल्ने
मैदान मात्र ठान्यौ भने,
त्यस्तै —आफ्नी आमालाई सन्तान जन्माउने
मेसिन सरह मात्र सोच्यौ भने ,
सानो काखलाई न्यानोपन दिने
केवल —स्वार्थी भावना मात्र राख्यौ भने
त्यसैले —समग्रमा भन्नु पर्छ ,
आकार,उचाइ ,मुल्य ,आफ्नोपन
जे भने पनि
हाम्रो ”भित्रीमन” नै स्वाभिमानी हुनु पर्छ
आफ्नो आँगन मै सौन्दर्यको प्रतिक लालीगुरांस
फूलाऊनु पर्दछ ,
आफ्नी आमालाई नै ”हीरा”मा अनुवाद
गर्न सक्नु पर्दछ
हजारौ सन्ततिको गणनामा परेर लुछाचुडी हैन
एौटै सन्तानको ”प्रतिक” बनेर
आमाको अधरमा मुस्कान छराउन सक्नु पर्दछ
अनि मात्र सानो देश पनि प्रज्वलित
”हीरा ”बन्न सक्दछ
आफ्नी आमाको स्वरूप जे जस्तो भए पनि
निसकलंक, निर्मल साईनो बन्न सक्दछ ,
अन्तमा —देश ,आमा नै हामी सबैको
आफ्नोपन र स्वाभिमान
बन्न सक्दछ
(अमेरिका)
(स्रोत : कविता कुसुम)