पुस्तक समीक्षा : “विरानो सहर”मा सूर्यका गजल

~दिलिप घिमिरे~book-cover-surya-kuikel-birano-sahar-gajal

अरवीबाट फारसी, हिन्दी, तथा उर्दु भाषा हुँदै नेपालीमा भित्रिन आएको गजल खास प्रकारको संचनामा आबद्ध विधा हो । बराबरी लम्बाइ वा एउटै छन्द भएका दुईदुई पङ्तिका कम्तीमा तीन सेर हुने यस विधामा मूलतः अन्त्यानुप्रासका क्रममा काफियापछि दोहोरिएर आउने रदिफ पनि रहेको हुन्छ । गजलका प्रत्येक सेर आफैँमा पूर्ण हुन्छन् । र यी गजलमा गजलकारले आफ्नो उपनाम ‘तखल्लुस’ राख्ने प्रचलन पनि छ । यस्तो विशेष बनोटका अतिरिक्त गजलमा भाव, कल्पना, लय तथा छन्द, विम्व तथा प्रतीक र भाषाजस्ता तत्वहरू प्रयोग हुने गर्दछन् । गजलमा प्राचीन समयमा प्रेमसम्बन्धी विषय प्रयोग हुने गरेकामा समयक्रममा यसमा अनेक विषय वा प्रयोग हुन थालेको पाइन्छ भने एउटा गजलका सबै सेरमा एउटै विषय वा भिन्न भिन्न विषय प्रयोग हुने प्रचलन पनि देखिन्छ ।

गजलका लागि अर्को आवश्यक कुरा लय वा गेय हो । गजल स्वयम्मा एउटा बिशिष्ट रूप हो र यो मूलतः लय र सङ्गीतको जगमा अड्को हुन्छ, लय र सङ्गीतात्मताको अभावमा गजलको कल्पना गर्नु हावामा उभिनु सरह हो । अहिले केही गजलकारहरू वहरमा लेखिएका गजल मात्र गजल हुन भन्ने भ्रममा छन् । मौलिक लय विधानमा रहेर पनि गजललाई गेयात्मक बनाउन सकिन्छ भन्ने कुराको ज्ञान हुनु आवश्यक छ ।

लयबिनाको पनि गजल हुन्छ भन्नेहरू भ्रमजीवी मात्र हुन् र यही लयले गजलको छन्दको निर्वाह गरेको हुन्छ । पहिलो पंक्तिमा भएको मात्रा प्रत्येक हरफमा हुनु जरुरी छ । अर्थात्् गजलका प्रत्येक पंक्ति एउटै लयमा आबद्ध हुन्छन् । जहाँ लय भङ्ग हुन्छ त्यहाँ गजलको संरचनागत अनुशासनको पालना नभएर असङ्गतितिर बहकिएको मान्नुपर्छ । यसकारण अनुशासित हुनलाई गेय वा लय पालनामा अत्यधिक सजग र सचेत हुनुपर्दछ । यसका साथै शब्द चयन र वाक्य गठनमा पनि त्यतिकै ध्यान दिनु आवश्यक छ, किनकि गजल भनेकै थोरै शब्दमा धेरै र गहन कुरा ब्यक्त गर्ने कोमलता र हार्दिकता बोकेको काव्य रूप हो ।

नेपालमा मोतीराम भट्टद्वारा गजलको बीजारोपण गरियो । नेपालमा प्रारम्भिक चरणमा मूल शृङ्गारिक र केही मात्रामा भक्ति तथा देशभक्तिपूर्ण गजल लेखिएको पाइन्छ । भने २०३६ सालदेखि यसको लेखनमा तीव्रता आउनुका साथै कथ्यगत विविधता पनि धेरै भएको पाइन्छ । नेपालीमा गजल लेख्नेहरूमा मोतीराम भट्ट, शम्भु प्र. ढुङ्गेल, भीमनिधि तिवारी, उपेन्द्र बहादुर ‘जिगर’, ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनु ब्राजाकी, आदि विशेष उल्लेख्य मानिन्छन् भने अन्य कतिपय गजलकारहरूले पनि गजलका क्षेत्रमा आफ्नो उपस्थिति जनाइसकेका छन् । झापा धरमपुर निवासी गजलकार ‘सूर्य कुर्इकेल’ आफ्नो पहिलो गजलकृति ‘विरानो सहर’ लिएर आउनुभएको छ । गजलको मेहफिलमा सूर्यजीलाइ स्वागत छ । सूर्य कुर्इाकेल तपाइँले धेरै पढेको, सुनेको नाम हो कथा, कविता, लेख आदिमा । तर गजल लेखन, प्रकाशन वा वाचनको बिषयमा भने म नजिकको साथी भए पनि अनभिज्ञ रहेँ । कहिल्यै गजलको विषयमा चिया गफ भएन । एक्कासी गजलको पाण्डुलिपि हात लाग्यो ‘विरानो सहर’ । म तीन छक्क परेँ गजल पढेर ।

जे जे गर्नु परेपनि गर्छु नेपालमै
मर्नु परेपनि बरु मर्छु नेपालमै

मुग्लानमा भासिएर सुख खोज्नुभन्दा
कोदो फापर खाई पेट भर्छु नेपालमै

*********************************

सुन फल्ने उर्वर माटो मेरै देशमा छ
सुन्दरताको पुरै पाटो मेरै देशमा छ

जिउँदो इतिहास बोक्ने, एकता र बिरताको
पुर्खाको त्यो अमीट खाटो मेरै देशमा छ ।

यसरी नेपाल र नेपाली हुनुको गौरव, गजलमा पोख्दै राष्ट्रप्रेम, देशभक्तिको भाव कुशलतापूर्ण शैलीमा अभिब्यक्त गरेका छन् गजलकारले । गजलका न्यूनतम मान्यताहरू यी गजल सेरभित्र उपस्थित छन् । भाव र रूपका दृष्टिले अब्बल गजलकार सूर्यजीका केही अन्य सेरहरू हेरौँ –

सुन्दै मन पर्ने आहा ! गाउँ धरमपुर
रमाइलो छ हामीलाई यो ठाउँ धरमपुर

**********************************

गजलका रस बोक्ने बहरहरू मीठामीठा
तिम्ले मलाई मायाँ गर्ने रहरहरू मीठा मीठा

**********************************

गौतमबुद्ध फेरि आऊ, देश अचेल यही भन्छ
शान्ति फेरि दिई जाऊ देश अचेल यही भन्छ

***************************************

कसलाइ सुनाऊँ तिम्रो कारण यो दिल दुखेको छ
रुँदा रुँदै परेलीको यो डिल दुखेको छ

यसरी यी गजलहरू सहज छन, सरल छन् र सम्प्रेषणीय छन् । यी गजलमा गाउँको र सहरको दुवै भाषा छ । झरना झैँ बगेका छन् । गजलमा बिम्ब र प्रतीकको प्रयोग उचित रूपमा गरिएको छ । सूर्यजीका गजलमा भाषीक प्रयोगले गजलहरू कति ठाउँमा चित्रात्मक पनि भएका छन् । कतिपय गजलहरूमा गाउँले परिवेशको सुगन्ध पाइन्छ भने कति गजलसेरहरूमा सहरिया र फोहोरी राजनीतिको दुर्गन्ध आउँछ । गजल सँरचनाको दृष्टिकोणले यी गजलहरू अध्ययन गर्दा सर्वप्रथम रदिफ र काफीयाको संयोग हेर्नुपर्ने हुन्छ । यस गजल संग्रहका सम्पूर्ण गजलहरूमा रदिफ र काफियाको सुन्दर मेल गरिएको छ । रदिफविहीन गजल यस संग्रहमा परेका छैनन् । रदिफ, काफीयाको सुन्दर प्रयोग गरी गजलकारले भजनमा पनि आफ्नो कलाको सुन्दर प्रयोग गरेका छन् । भजनको शास्त्रीयतामा गजलको शेर–

बाँसुरीको मीठो धुन बजाइदेऊ न कृष्ण काले
धुनसँगै राधाजीलाइ नचाइदेऊ न कृष्ण काले

सूर्यका गजलमा सरल शब्द संयोजन, गहिरो भाव प्रस्तुत गर्ने कुशलता छ । गजलमा विविधता प्रस्तुत गरेका गजलकार एउटै विषयवस्तुमा मात्र सीमित रहेका छैनन् । सूर्यको तेजस्वी प्रकाश झैँ फैलिएका छन् । कतै माटोको अगाध माया, कतै प्रकृतिप्रेम, जीवनका विविध पक्षहरूको चिरफार, कुण्ठा, पीडा, सुख दुःख, देश परदेश आदि पक्षहरूलाई गजलका सेरहरूमा कुशलताका साथ उनेका छन यस संग्रहमा ।

भावगत विविधताका साथै मीठो लयमा आबद्ध यी सेरहरूले हामीलाई छुन्छन नै । यी सेरहरूले सूर्यमा एउटा निक्कै राम्रो संभावनाको सङ्केत गर्दछन् ।

सूर्य कुर्इाकेलका कतिपय गजलमा काफीयामा दोष देखिन्छ । कतै गजलको मत्लामा प्रयोग गरिएको लय र त्यसपछिको सेरमा प्रयोग भएको लयमा अन्तर छ । गजलतत्वको कमी पनि महशुस हुन्छ गजल पढ्दै जाँदा । यसर्थ लयलाई आत्मासात् गरेर गजल सिर्जनामा गम्भीर भएर लागेमा गजलकार सूर्य कुर्इाकेल हामीलाई सुन्दर गजल सृजनाहरू प्रदान गर्नमा सक्षम हुनेछन् र नेपाली गजलमा आप्mनो अलग पहिचान सहितको स्थान बनाउने छन् । सफलताको शुभकामना गजलकृति र गजलकार सूर्य कुर्इाकेलमा यिनै गजल सेरहरूसहित ।

अँध्यारोमा जुन भेटेँ विरानो सहरमा
मनको मीठो धुन भेटेँ विरानो सहरमा

कतै चोट कतै खोट जागर अनि जोस
उम्लिएको खुन भेटेँ विरानो सहरमा

मेरो फगत् एउटा प्रयास कसी लाउन खोज्नु
अकवरी सुन भेटेँ विरानो सहरमा

(स्रोत : पिपुल्स टाइम्स दैनिक )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.